नेपाली चिया भारतले चेकजाँच गर्न हुने तर नेपालले भारतीय तरकारी जाँच गर्न किन नहुने ?


 


काठमाडौं । लामो समय देखि सरकारले गर्ने हरेक निर्णहरुमा आपत्ति जनाउँदै आउँनु भएका नेकपा नेता भिम रावलले फेरि पनि विरोध गर्नुभएको छ ।

भारतको दबावपछि तरकारी र फलफूलमा विषादी परीक्षण रोकिएको विषयमा सत्तारूढ दल नेकपा नेता भीम रावलले आपत्ति जनाउनु भएको हो । उहाँले सर्वभौम सरकारी अधिकारी प्रयोग गर्न सरकार चुकेको आरोप लगाउनु भएको छ । आज बसेको नेकपा संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै नेता रावलले सरकारको कदमप्रति आपत्ति जनाउनु भएको हो ।

विश्‍व व्यापार संगठनमा गरिएको सम्झौताअनुसार नै कुनै पनि देशले तरकारी वा वनस्पती आयात गर्ने क्रममा निश्‍चितम मापदण्ड तोक्न पाउने व्यवस्था गरिएको विषय रावलले स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, ‘आयातित सामग्री कस्तो छ भनेर चेक गर्छुभन्दा नगर्ने भन्ने अनि कसैले नगर भन्दैमा निर्णय फिर्ता लिने ।

यो सार्वभौम देशको अधिकार भित्रको रक्षा सरकारले गर्नु पर्छ ।’ आयात हुने तरकारी तथा फलफूलको अवस्था जाँचबुझ गर्ने यसअघिको सरकारको निर्णय सही भए पनि फिर्ता लिने निर्णयले सरकारले जनताप्रति कर्तव्य निर्वाहामा विमुख देखिएको उहाँको दाबी छ ।

भारतले पनि अन्य देशबाट मात्रै नभई नेपालबाट जाने चिया रोकेर चेकजाँचको लागि नमूना कलकोत्ता पठाएको विषयमा पनि रावलले ध्यानकर्षण गराउनुभयो । भारतले चर्को दबाब दिएपछि वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषदले सीमामा तरकारी तथा फलफूलको विषादी जाँच्ने निर्णय फिर्ता लिएको हो ।

सरकारले गत जेठ १० गते भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णयपछि असार २ गते राजपत्रमा सूचना निकालेर भन्सारमा चेकजाँच थालिएको थियो । सरकारले सीमामा विषादी परीक्षणस्थल आगामी ६ महिनामा बनाइसक्ने गरी आफ्नो निर्णय फिर्ता लिएको बताएको छ ।

प्रकाशित मिति: २२ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्