पुरा भयो ओलीको बोली ! अर्को महिनामा नेपालमा पाइपबाट तेल आउने


 


काठमाडौं, असार २३

मोतीहारी–अमलेखगन्ज पाइप लाइनबाट अगस्तदेखि तेल भित्र्याउने गरी तयारी थालिएको छ । पाइप लाइनको पहिलो चरणअन्तर्गत पाइप गाड्ने, मुख्य लाइन टेस्टिङ, पाइप क्लिनिङलगायत काम सकिएको छ । अहिले तेल ल्याउन टेस्टिङको तयारी भइरहेको नेपाल आयल निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए । ‘अटोमेटिक उपकरण सञ्चालन गर्न गाडिएको केबल टेस्टिङको काम भइरहेको छ,’ उनले भने ।

भारतको मोतीहारीमा पम्पिङ हाउस निर्माण नहुँदासम्मका लागि भारतको पटना–सिवान–मोतीहारी हुँदै सिधा अमलेखगन्ज तेल भित्र्याउने काम अघि बढेको गोइतले बताए । भारतले अत्यधुनिक पम्पिङ हाउस मोतीहारीमा निर्माण गरिरहेको छ ।

नेपाल भित्र्याइने तेलको रिसिभिङ डिपो अमलेखगन्ज र पम्पिङ डिपो भारतको मोतीहारीमा रहनेछ । मोतीहारीको पंपिङ हाउस सञ्चालनमा नआउन्जेलसम्मका लागि सिधैं पटना–सिवान–अमलेगन्जसम्म पाइप जडान गरी तेल भित्र्याउने तयारी गरिएको आयल निगम अमलेखगन्ज डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए ।

‘पाइप लाइनबाट तेल भित्र्याउन अटोमेटिक कन्ट्रोल रुम निर्माण गरिन्छ,’ उनले भने, ‘कम्युटरको माध्यमले स्वचालित उपकरणलाई थोरै जनशक्तिमा कन्ट्रोल गर्न सकिन्छ ।’ यो उपकरण नयाँ हो । नेपालमा पहिलोपटक अभ्यास गरिँदै छ । भारतमा यसको प्रयोग भइरहेकाले आफूहरू पनि यसको सफल परीक्षणमा विश्वस्त रहेको यादवको भनाइ छ ।

अमलेखगन्जमा पाइप लाइनको तेल भण्डारण गर्न तयारी अवस्थामा राखिएको ४१ सय किलोलिटरका दुईवटा ट्यांकी र ३९ सय किलोलिटरका दुई गरी चारवटा ट्यांकीमा पाइप लाइनको भल्भ जडान गर्ने काम चलिरहेको मोतीहारी–अमलेखगन्ज पाइप लाइन परियोजना कार्यालयका इन्जिनियर शरद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: २३ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्