पासाङ ल्ह्यामु शेर्पाकी छोरी दावाफुटी बनिन् स्पेनकी राजदूत


 


काठमाडौं सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्ह्यामु शेर्पाकी छोरी दावाफुटी शेर्पा स्पेनका लागि नेपाली राजदूत बन्ने भएकी छन्। सोमबार बसेको संसदीय सुनुवाइ समितिबाट अन्य तीन जनासँगै दावाफुटी पनि राजदूतमा अनुमोदन भएकी हुन्।

उनी प्रधानमन्त्री ओलीको कोटामा राजदूत सिफारिस भएकी हुन्। पासाङ ल्ह्यामुका देवर आङछिरिङ शेर्पासँगको सम्बन्धले प्रधानमन्त्रीले दावाफुटीलाई राजदूत सिफारिस गरेका हुन्।

नेपालको आन्तरिक र कूटनीतिक मामिलाबारे त्यतिधेरै जानकारी नराख्ने दावाफुटीलाई प्रधानमन्त्री ओलीले आङछिरिङसँगको सम्बन्धका कारण राजदूत सिफारिस गरेको चर्चा भएको थियो।

सुनुवाइका क्रममा पनि सांसदहरूले उनको अनुभव क्षमताबारे प्रश्न सोधेका थिए।

‘राजदूत भनेपछि कपाल फुलेको मानिसको तस्बिर आउँछ। तपाईं त भर्खरको हुनुहुन्छ, जिम्मेवारी कसरी पूरा गर्नुहुन्छ,’ भन्ने एक सांसदको प्रश्नको जवाफमा दावाफुटीले आफूसँग अनुभव नभए पनि अग्रजहरूबाट सिक्दै जाने जवाफ फर्काएकी थिइन्।

२०३८ सालमा जन्मेकी दावाफुटी अमेरिकामा अध्ययन गरेर भर्खरैमात्रै नेपाल फर्किएकी हुन्।

उनी अहिले पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन्। यसअघि पूर्वमन्त्री कृपासुर शेर्पा फाउन्डेसनका अध्यक्ष थिए। शेर्पाले नै धुम्बाराहीस्थित भवन फाउन्डेसनकै भवनमा नेकपाको केन्द्रीय कार्यालय राख्न दिएका थिए।

नेपालको आन्तरिक र कूटनीतिक मामिलाबारे त्यतिधेरै जानकारी नराख्ने दावाफुटीलाई प्रधानमन्त्री ओलीले आङछिरिङसँगको सम्बन्धका कारण राजदूत सिफारिस गरेको एक नेकपा नेताले बताए।

गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित यति एयरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पाको पनि निधन भएपछि एयरलाइन्सको जिम्मेवारी उनका दाजु लाक्पा सोनाम शेर्पाले सम्हाल्दै आएका छन्।

प्रकाशित मिति: २३ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्