बाढीपहिरोको चपेटामा प्रदेश १, २ र ३


 


काठमाडौं । बाढीपहिरोको बढी चपेटामा तीनवटा प्रदेश परेका छन्। प्रदेश १, २ र ३ मा जनधनको क्षति भएको छ। पहाडी भेगमा बाढीपहिरो र तराई–मधेसमा डुबानको समस्या देखिएको छ।

प्रदेश १ को मोरङमा डुबान हुँदा शुक्रबार साँझसम्म ७ सय ५५ परिवारका ३ हजार ५ सयभन्दा बढी जना प्रभावित बनेका छन्। आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

तीन दिनदेखिको अविरल वर्षाका कारण प्रदेश २ को जनजीवन प्रभावित भएको छ। धनुषा र सिरहामा कमला, महोत्तरीमा रातु, जङ्हा र ओक्सी, रौतहटमा लालबकैया र बागमती नदीको बहाव बढेर बस्तीसम्म पुगेको छ। सप्तरीको सप्तकोसी, पर्साका गण्डक, औरिया, भलुवाही, सिक्टा र तिलावे नदीमा आएको बाढीले धेरै क्षति पुर्याउने सम्भावना बढेको छ। बाढीमा फसेका सर्वसाधारणलाई उद्धार गर्न प्रहरी खटिएका छन्।

महोत्तरीका ४० भन्दा बढी गाउँ डुबानको जोखिममा परेका छन्। कमला नदीको पूर्वी किनाराका सिरहा–६ का बसपिटा र कल्याणपुर–१२ का बेल्हाबाट सारश्वर गाउँमा बाढी पस्दा सयभन्दा बढी घर डुबानमा परेका छन्। सिरहाको कल्याणपुर–५ स्थित कमला नदीको टापुमा चार जना फसेका छन्। उनीहरू शुक्रबारसम्म बाहिर निस्किन सकेका छैनन्। एक जनालाई धनुषा सुरक्षाकर्मीको टोलीले उद्धार गरेको छ।

निर्दना गाउँको रसिन्द्र दास, सुकदेव दास, कञ्चन मण्डल, कुनमा महतो र उनकी श्रीमती गाईवस्तु चहार्न कमला नदी टापुमा बनाएको गोठमा पुगेका थिए। बाढी आएपछि उनीहरू बाहिर आउन नसकेको सिरहा प्रहरी प्रवक्ता डीएसपी अपिलराज बोहराले बताए।

प्रदेश ३ को मकवानपुरबाट काठमाडौं जोड्ने चार सडक बाढीपहिरोका कारण अवरुद्ध भएका छन्। भीमफेदी–१ भैंसेस्थित बागझोरा खोलामा बाढी आउँदा कुलेखानी–सिस्नेरी, फाखेल र त्रिभुवन राजपथ र कान्ति लोकपथ प्रभावित भएका हुन्।

बागमती नदीको बाढी बस्तीमा पस्दा सिन्धुलीको हरिहरपुरगढी–३ बसपार्कका ६० भन्दा बढी घर डुबानमा परेको गाउँपालिका अध्यक्ष कार्साङ लामाले बताए।

उनका अनुसार कालिका कन्स्ट्रक्सनले मदन भण्डारी लोकमार्ग निर्माणका लागि बागमती नदीबाट ढुंगा, गिट्टी र बालुवा निकालेको थियो। बालुवाको थुप्रोका कारण नदीले धार परिवर्तन गर्दा बस्ती डुबेको उनको भनाइ छ। मरिण नदीको बाढीका कारण एक दर्जनभन्दा बढी घर जोखिममा परेका छन्।

प्रकाशित मिति: २८ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्