यी हुन् वार्ताका लागि विप्लवका तीन शर्त


 


काठमाडौं,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकारसँग वार्ताका लागि सकारात्मक देखिएको छ। सरकारले नै अनौपचारिक रुपमा वार्ताको लागि पहल गरेपछि विप्लव समूह सकारात्मक देखिएको हो ।

सर्लाहीमा विप्लव समूहका जिल्ला इञ्जार्ज कुमार पौडेल प्रहरी कारवाहीमा मारिएपछि सरकारले वार्ताका लागि पहल गरेको हो । स्रोतका अनुसार वार्ताको वातावरण बनाउनका लागि सरकारले विप्लव समूहबाट ओली–प्रचण्ड नेतृत्वको नेकपामा प्रवेश गरेका पोलिटव्युरो सदस्य पदम राईमार्फत् पहल अगाडि बढाएको हो । विप्लव समूहका एक नेताले भने, ‘हामी वार्ता विरोधी होइनौं तर सार्थक र परिणाममुखी वार्ता चाहन्छौं । सरकार खुला रुपमा आउँछ भने हामी संवादका लागि तयार छौं ।’

नेकपाका नेता जनार्दन शर्माले विप्लव समूह र सरकारको बीचमा आफू समवन्यकारीको भूमिका निर्वाह गर्न तयार रहेको बताउँदै आएका छन् । स्रोतका अनुसार पछिल्लो विप्लव समूहका केही नेताहरु नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्पर्कमा छन् । सर्लाही र भोजपुरमा विप्लव समूहका दुईजना जिल्ला इञ्जार्जको ज्यान गएपछि सरकार र सत्तारुढ नेकपामाथि पार्टीभित्रबाटै विप्लव समूहसँग वार्ता गर्नुपर्ने दबाब बढेको थियो ।

विप्लव समूहका एक नेताका अनुसार विप्लव समूह सशर्त वार्ताका लागि तयार छ । गत फागुन अन्तिम साता सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि देशभर सो समूहविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसन जारी छ ।

वार्ताका लागि विप्लवका शर्त

विप्लव समूहका केही नेताहरु सरकारको सम्पर्कमा रहँदै आएका थिए । सरकारले सोमप्रसाद पाण्डेको नेतृत्वमा गठन गरेको वार्ता समितिको सम्पर्कमा आएका विप्लव समूहका नेताले वार्ताका लागि तीन सर्त राखेका थिए । आफूहरुमाथि लागेको प्रतिबन्ध फुकुवा, पक्राउ परेका सबै नेता–कार्यकर्ताको निःशर्त रिहाइ र आफूहरुलाई राजनीतिक पार्टीकै व्यवहार गर्दै कार्यक्रमहरु गर्न दिनुपर्ने माग उनीहरुले अघि सारेका थिए ।

सबाहेक वार्ताका लागि सरकारले सार्वजनिक रुपमा आह्वान गर्दै पत्र पठाउनुपर्ने उनीहरुको माग थियो । तर सरकारी समितिले पार्टीका महासचिव वा दोस्रो–तेस्रो वरीयतासम्मको नेतासँग भेट गराउनुपर्ने माग गरेका थिए ।

सरकारले गठन गरेको उच्चस्तरीय वार्ता समितिले विप्लव समूहलाई राजनीतिक रुपमै व्यवहार गर्नुपर्ने सरकारलाई सुझाव दिँदै आएको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार ०७६ असार २९ गतेसम्म विप्लव समूहका ५८५ नेता कार्यकर्ता पक्राउ परेका छन् । जसमध्ये ५४३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ भने ९६ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । ६५ जना अनुसन्धानको क्रममा छन् भने तीनजनाको मुद्दा दर्ता गर्न बाँकी छ ।

प्रकाशित मिति: ३० असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्