डुवान क्षेत्रमा नेता र मन्त्रीहरुको लर्को


 


जनकपुर, साउन १

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले तराई मधेशमा बाढीको प्रमुख कारण चूरे क्षेत्रको संरक्षण अभाव भएको बताएका छन् । प्रदेश नम्बर २ को ८ जिल्लामा अविरल वर्षाका कारण आएको बाढी अनुगमनको क्रममा उपप्रधानमन्त्री यादवले बाढीको स्थायी समाधान चूरे संरक्षण भएको बताएका हुन् ।

उनले चूरे संरक्षण नहुँदा प्रत्येक वर्ष बाढीमा तराई त्राहिमाम हुने गरेको बताउँदै चूरे बचाउनुको विकल्प नरहेको जिकिर गरे । चूरे क्षेत्रमा वस्ती बसाउनु तथा सडक निर्माण गर्नु पूर्ण प्रतिबन्ध बाढीमा स्थायी समाधान रहेको उनको भनाई थियो । उनले प्रदेश २ को बाढी प्रभावित क्षेत्रका लागि तीन स्थानमा स्वास्थ्य शिविरको आयोजना गरिएको समेत बताए ।

प्रदेश नम्बर २ का प्रमुख सचिव दिपक सुवेदीसँग बाढीको प्रादेशिक अवस्था बुझ्दै गृहमन्त्री रामबहादुर थापा बादलले बाढीबाट भएको क्षतिको यकिन विवरण आएपछि सरकारले राहत तथा पुनःस्र्थापनामा सघाउने बताए । सरकारले बाढी प्रभावित क्षेत्रमा छिट्टै पुनर्निर्माण कार्य सुरु गर्ने समेत उनले बताए ।

उनले चूरे पहाड क्षेत्र विनासका कारण तराई मरुभूमिमा परिणत हुने अवस्थामा पुगेको बताए । उनले तराई मधेशको समस्यालाई नीतिगत रुपमा दिर्घकालिन सुधारका लागि सरकारले विपद् प्राधिकरणको थालनी गरिसकेको बताए । उनी चुरे पहाड क्षेत्रको अवस्थाप्रति निकै चिन्तित देखिए ।

प्रकाशित मिति: १ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्