अत्याधुनिक हतियार छाडेर भागेका विप्लव समुहका नेता पक्राउ


 


विराटनगर, साउन १०

अत्याधुनिक हतियारसहित मोटरसाइकलमा हिँडिरहेको अवस्थामा प्रहरीले पिछा गरेको चाल पाएपछि धरानबाट लगभग पाँच महिना अघि फरार बनेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक नेता पक्राउ परेका छन् ।

उक्त समूहका धनकुटा–मोरङ सेक्रेटरी मोरङको केराबारी गाउँपालिका–३ घर भएका ४५ वर्षीय दीपक राई बिहीबार विहान पक्राउ परेका छन् । प्रहरीले पक्राउ गर्ने तयारी गर्दै गर्दा उनी आफ्ना साथी, अत्याधुनिक हतियार र मे ५ प ७५ नम्बरको मोटरसाइकल छाडेर २०७५ फागुन १५ गते धरान उपमहानगरपालिका–६ पानवारीबाट मोरङको केराबारीतर्फ भागेका थिए । शंकास्पद रुपमा आएको मोटरसाइकल नरोकेपछि सवारी चेकजाँचमा खटिएका ट्राफिक प्रहरी जवान राजकुमार गौतमले सिट्ठी फुक्दै राई सवार मोटरसाइकलको पिछा गरेका थिए ।
गौतमले अर्का प्रहरी जवान सोनाम लामा र स्थानीय बासिन्दाको सहयोगमा मोटरसाइकल चालक समेत रहेका मोरङ बेलवारी नगरपालिका– १० घर भएका ‘विप्लव’ समूहका कोसी ब्युरो सदस्य देवकुमार लिम्बूलाई त्यतिबेला पक्राउ गरेका थिए । लिम्बू मोटरसाइकल चालक हुन् । काठको बाकस भित्र हालेर हतियार लैजाँदै गरेको अवस्थामा प्रहरी जवान गौतमले सिट्ठीका भरमा हतियारसहित लिम्बूलाई पक्राउ गर्न सफल भएका थिए ।

त्यतिबेला उनको साथबाट नेपाली सेनाले द्धन्द्धकालमा अमेरिकाबाट खरिद गरेर ल्याएको र नेपालमा सेनाले मात्रै प्रयोग गर्ने अत्याधुनिक हतियार एलएमजी एक थान र एम १६ एकथान बरामद भएको थियो । हतियार बोकेर मोटरसाइकलको पछाडि सवार रहेका ‘विप्लव’ समूहका धनकुटा–मोरङ सेक्रेटरी राई भने आफ्ना साथीसहित दुवै हतियार र मोटरसाइकल छाडेर भागेका थिए । फरार भएका उनका बारेमा त्यतिबेलै पहिचान खुलेपछि प्रहरीले खोजी तीव्र पारेको थियो । प्रहरीको अनुसन्धानले दुवै हतियार द्धन्द्धकालमा माओवादीले नेपाली सेनाबाट लुटेको निस्कर्ष निकालेको छ ।

फरार रहेका राईको खोजी तीव्र पारेर प्रहरीले लिम्बूलाई भने सांगठित अपराध र हातहतियार खरखजना ऐन अन्तर्गतको मुद्दा चलाएको थियो । ‘लिम्बू अत्याधुनिक हतियारसहित पक्राउ परे पनि हतियार बोकेर मोटरसाइकलको पछाडि बसेका राई त्यतिबेला फरार भएका थिए,’ प्रहरी स्रोतले भन्यो, ‘खुल्लेआम रुपमा हतियार बोकेर हिंड्ने उनलाई निक्कै लामो मिहिनेतपछि पक्राउ गर्न सकियो ।’

तत्कालिन माओवादीले सेना समायोजनका क्रममा धेरै हतियार लुकाएको र त्यही हतियार ‘विप्लव’ समूहले अहिले सरकार विरोधी गतिविधिमा प्रयोग गर्न थालेको निस्कर्षमा प्रहरी पुगेको छ । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले प्रहरीको विशेष टोलीले लामो समयदेखि फरार रहेका र प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका राईलाई केराबारी– ३ बाटै पक्राउ गरिएको पुष्टि गरे । उनका अनुसार राईलाई एउटा घरमा सेल्टर लिएर बसिरहेको अवस्थामा पक्राउ गरिएको हो । सरकारले ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाएपछि आफ्नो घर छाडेर भूमिगत बनेका राई सोही ठाउँको कुनै एउटा घरमा सेल्टर लिएर बस्ने गरेको सूचना प्रहरीमा थियो ।

राईलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीमा राखेको छ । बम विष्फोट, चन्दा आतंक, हतियार ओसारपसार लगायतका धेरै घटनामा उनको संलग्नता रहेको खुलेको एसपी अधिकारीले बताए । मोरङ र धनकुटा बाहेक अन्य जिल्लामा ‘विप्लव’ समूहले गराएका विभिन्न घटनामा राईको संलग्नता रहेको खुलेपछि गम्भीर रुपमा अनुसन्धान अघि बढाइएको उनको भनाइ छ ।

अधिकारीका अनुसार फरार भएको लामो समयपछि पक्राउ परेका राई विरुद्ध विभिन्न प्रहरी कार्यालयमार्फत दर्जनौं मुद्दा चलाइएको छ । इलाका प्रहरी कार्यालय धरानले चलाएको संगठित अपराध र हातहतियार खरखजना मुद्दाको अनुसन्धानका लागि राईलाई बिहीबार नै धरान प्रहरीको जिम्मा लगाइसकिएको छ ।

प्रकाशित मिति: १० श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्