प्रधानमन्त्री ओलीले भने – मधेश डुबानमा पर्नुमा नेपाल पनि दोषी छ


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नो कारणले पनि तराई मधेश डुवानमा परेको बताएका छन् । उनले भने, ‘भारतलाई मात्र दोष दिएर हुँदैन, नेपालको तर्फबाट पनि त्यसको समाधानका लागि ध्यान दिएको छैन ।’ यो बाढीका कारण आफू निरन्तर भारतीय सरकारको सम्पर्कमा रहेको बताउँदै उनले भारत पक्षले नेपालका प्रतिनिधिलाई छलफलमा बोलाउँदा नआएको गुनासो गरेको प्रधानमन्त्री ओलीले बताएको प्रदेश २ सांसद एवं नेकपाका नेता सत्यनारायण मण्डलले बताए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सहितको टोलीसँग आइतवार आफ्नो निवासमा कुरा गर्दै प्रधानमन्त्री ओलीले भारतीय पक्ष बाढीको समस्या समाधान गर्न लचिलो देखिन्छ तर नेपालको तर्फबाट त्यति गम्भिर नदेखिएको गुनासो गरे । भारतबाट छलफलका लागि बोलाउँदा यताबाट प्रतिनिधिहरु गएर छलफल गर्नुपर्ने हो नि तर जाँदैनन् अनि कसरी समस्या समाधान हुन्छ, प्रधानमन्त्री ओलीले भने, ‘आज पनि मैले भारतीय पक्षसँग कुरा गरेको छु । अब चाँडै नै समाधान हुन्छ ।’

प्रधानमन्त्री ओलीले बाढी पीडितको अवस्था बुझ्न मधेश झने चाहना व्यक्त गरेका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सहितको टोलीसँग आइतवार आफ्नो निवासमा कुरा गर्दै प्रधानमन्त्री ओलीले साँच्चै बाढीले त्यहाँका जनतालाई निकै पीडा दिएको छ, एकपटक आफू पनि त्यसको अवलोकन गरि जानकारी लिन चाहेको चाहना व्यक्त गरेका थिए ।

प्रकाशित मिति: १३ श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्