उर्लाबारीको बोका काण्डः “चरित्र हत्या गरियो”, वास्तविकता यस्तो रहेछ !


 


उर्लाबारी । मोरङको उर्लाबारी–८ मा विउ बोका काटेर खाएको बिषयले उग्ररुप लिएपछि वडाध्यक्ष तथा कृषकहरुले वास्तविकता खुलाएका छन् ।

सोमबार पत्रकार भेटघाट कार्यक्रम गरी उर्लाबारी वडा नं. ८ का कृषक डिल्लीराम नेपालले अनुदानमा पाएको विउ बोकाले मान्छेलाई हान्न थालेपछि त्यसको सट्टा अर्को विउ बोका ल्याएर त्यसलाई काटेको बताए । बोका काटेर खाए भनेर प्रचारप्रसार गर्दा दुःख लागेको उनले बताए । ‘हामी बोकै खान नपाएको जस्तो गरियो’ उनले दुखेसो पोख्दै भने–‘वास्तविकता बुझेर प्रमाणित हुने गरी आरोप लगाउनु परो नि, जसलाई जे मन लाग्यो त्यही भन्न मिल्छ ?’

‘हामीलाई के तलब राखेर संरक्षणका लागि दिएको हो र ?’ अर्का कृषक ज्ञानबहादुर श्रेष्ठले–‘मान्छे हानेर थामीसक्नु भएन कसरी ब्यवस्थापन गर्ने ?’ आफूलाई समेत तीन पटक हानेपछि वडा कार्यालयमा निवेदन दिएर बोका काटेको उनले खुलाए । त्यस्तै, २०७४ सालको बजेटमा अनुदानमा बोका वितरण गरेको वडाध्यक्ष कुलबहादुर कार्कीले बताए । कृषकहरुलाई अनुदानमा पाएको बोका एक बर्षसम्म पालेर त्यसपछि ब्यवस्थापन गर्नु पर्ने पशु डाक्टरले प्रशिक्षणकै क्रममा बताएको पनि उनले जानकारी दिए ।

बोकाको विउबाट उत्पादित पाठीहरुमा सोही बोका लगाउन नहुने पशु डाक्टरहरुले सुझाव दिएको उनको भनाई छ । भएकाले बोकाले हानेर समस्या सिर्जना गरेको भन्दै निवेदन आएपछि वडा कार्यालयको बैठकबाट त्यसको साटो अर्को खरिद गरी काट्न अनुमति दिएको उनको भनाई छ । राजनीतिक प्रतिसोध साध्नका लागि आफूहरुलाई आरोप लगाएको दाबी गरे ।

आफू जनताबाट निर्वाचित भएकोको जनप्रतिनिधि भएकाले जनताको हित विपरीत कुनै काम नगरेको उनले बताए । ‘कहिले वडाध्यक्षले बोका काटेर खाए, कँहीले मकैको विउ बेचे भनिन्छ, वास्तविकता नबुझि राजनीतिक प्रतिसोध साध्ने काम गर्नु त भएन नि’ उनले भने–‘जे हो त्यो बाहिर ल्याउनु पर्छ तर, चरित्र हत्या नगर्नुहोस् ।’

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले केही दिनअघि पत्रकार सम्मेलन गरी उक्त आरोप लगाएका थिए । मेयर फागोले म भष्ट्रचार गर्दिन अरुलाई नि गर्न दिन्न भन्दै पत्रकार सम्मेलनबाट भण्डाफोर अभियान चलाउने बताएका थिए ।

प्रकाशित मिति: १३ श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्