यसकारण इप्रका उर्लाबारीमा सफल भए रामप्रसाद तिमल्सिना


 


उर्लाबारी, साउन १३

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको सरुवा भएको छ । तिमल्सिना जिल्ला प्रहरी कार्यालय धनकुटामा सरुवा भएका हुन् ।  त्यस्तै उर्लाबारीको कमाण्ड सम्हाल्न संघीय प्रहरी इकाई कार्यालय प्रशिक्षण समूह धरानबाट प्रहरी निरीक्षक सुवास राई आउने भएका छन् ।

उर्लाबारीको कमाण्ड १५ महिना सम्हालेका तिमल्सिना जिल्ला प्रहरी कार्यालयबाट उत्कृष्ट प्रहरी निरीक्षकको रुपमा पुरस्कृत भएका थिए । उनले उर्लाबारीमा शान्ति सुरक्षा ब्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।

उनी आफ्नो कार्यक्षेत्रभित्र सर्वसाधारण नागरिक र नेपाल प्रहरीप्रति अपनत्व र विश्वास अभिवृद्धि गर्न सफल भएको मानिन्छन् । उनले जिम्मेवारी क्षेत्रभित्र चार वटा प्रहरी विटहरु निर्माण गरी पिकेट सुरक्षा प्रभावकारी बनाए । त्यस्तै, उनले ७ पटक र मातहत कर्मचारीहरुको कमाण्डमा १७ पटक एलआरपी गस्ती परिचालन गरी शान्ति सुरक्षा व्यवस्थापन, पिकेट, क्यूआरटी, मोवाइल टिम पैदल गस्ती र समुदाय प्रहरी साझेदारी कार्यक्रमका माध्यमबाट समेत प्रभावकारी बनाए ।

उनको नेतृत्वमा विभिन्न अपराधका ५६ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी मोरङ जिल्ला अदालतमा दाखिला गरेका छन् । प्रहरी निरीक्षक तिमल्सिनाले गत आ।व। २०७५/२०७६ मा घटेका सम्पूर्ण अपराधका कसुरदारहरुलाई पक्राउ गरी सफल अपराध अनुसन्धान गरेका छन् । गुण्डागर्दी, लागु औषध, दुव्र्यसनी, लैङ्गिक हिंसा, चोरी, सवारी दुर्घटना एवम् मापसे गरी हो—हल्ला गर्ने व्यक्तिहरुको पहिचान गरी सम्भावित अपराधहरुको रोकथाम र नियन्त्रण गर्ने कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरेका थिए ।

समुदाय प्रहरी साझेदारी अन्तरगत २ वटा समुदाय प्रहरी पालिका समिति, १८ वटा समुदाय प्रहरी वडा समिति, ११ वटा प्रहरी विद्यालय सम्पर्क समिति तथा विभिन्न समुदाय प्रहरी टोल समिति गठन गरी एरियामा घटेका र घट्न सक्ने अपराधहरुको बारेमा सचेतना मूलक कार्यक्रमका माध्यमबाट अपराध रोकथाम र नियन्त्रणमा उल्लेख्य योगदान प्रहरी निरीक्षक तिमल्सिनाले गरेका छन् ।

नगरपालिका र गाउँपालिका स्तरीय लैङ्गिक हिंसा सञ्जाल समिति र तीनका १८ वटा वडा स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरी लैङ्गिक हिंसा, मानव बेचबिखन र सामाजिक सञ्जालको प्रयोग सम्बन्धमा सचेतनामूलक कार्यक्रमका माध्यमबाट अपराधको रोकथाम र नियन्त्रणमा समेत उनले महत्वपूर्ण योगदान गरेको पाइन्छ । उनको कमाण्डमा बिभिन्न मितिमा बिभिन्न ब्यक्तिहरुले मोबाइल हराएको निवेदनमा कल डिटेल गरी चोरी भएका मोबाईलहरु मध्ये २५ थान फेला पारी सम्बन्धित ब्यक्तिलाई फिर्ता गरिएको छ ।

त्यस्तै, प्रहरीसँग सम्बन्धित सूचना प्रवाहको लागि कार्यालयको मूलगेट अगाडि डिजिटल सूचना बोर्डको सुभारम्भ, समुदाय प्रहरी साझेदारी अन्तर्गत ३५ वटा सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरी विद्यालय, कलेज र समुदायमा प्रभावकारी काम उनले अघि बढाएका छन् । प्रहरी निरीक्षक तिमल्सिनाले समुदायसँग सूचना आदान प्रदान तथा प्रहरी काम कारबाही सम्बन्धमा जनगुनासोहरु सुन्न समुदायसँग चिया कार्यक्रम सुरु गरी विभिन्न स्थानमा २३ वटा कार्यक्रम गरेका छन् । प्रहरी मेरो साथी हो भन्ने भावनाको विकास भएको भनी नागरिकबाट सकारात्मक प्रभाव समेत आएको पाइन्छ ।

प्रकाशित मिति: १३ श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्