भ्रष्टाचार बढेको होइन, गिरफ्तारी बढेको हो – प्रधानमन्त्री ओली


 


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अहिले भ्रष्टाचारीहरु धमाधम पक्राउ परिरहेको बताए । ‘सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले भ्रष्टाचार बढेको होइन गीरफ्तारी बढेको हो । भ्रष्टाचारमा संलग्नलाई सानो ठुलो भनेर हेरिदैन । सबैलाई कारबाही हुन्छ ।’

प्रधानमन्त्री ओलीले सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछोड्ने बताए । विभिन्न ठाउँमा अतिक्रमण भएका र भू–माफियाले कब्जा गरेका सरकारी जग्गाहरु पनि सरकारले विधि पु¥याएर फिर्ता लिने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘ललिता निवासको जग्गा पनि वर्तमान सरकारले छानविन थालेको हो । तर यही सरकारले जग्गा हड्पेको जस्तो गरी मान्छेहरु कराइरहेका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘यो भन्दा अघिका सरकारहरु के हेरेर बसेका थिए । त्यसबेला सरकारमा बसेका मान्छे नै अहिले ठुला–ठुला कुरा गर्छन् ।’

प्रतिनिधि मण्डलले बाग्लुङको गल्कोटमा इलाका प्रशासन कार्यलय स्थापना गर्न प्रधानमन्त्री ओलीसमक्ष माग गर्दै एक ज्ञापनपत्र पनि बुझाएको छ । ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले जनतालाई सहज रुपमा सेवा दिने आफ्नो नीति भएकोले इलाका प्रसाशन कार्यलय स्थापना गर्न आफू सकारात्मक रहेको बताए ।रातोपाटीबाट

प्रकाशित मिति: १४ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्