अब ट्रेड युनियन खारेज गर्नु पर्छ – मुख्यमन्त्री


 


काठमाडौं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीतन्त्रको कार्यशैली बदलिन आवश्यक रहेको धारणा अघिसारेका छन् । देशको शासन व्यवस्था र शैली बदलिए पनि कर्मचारीतन्त्र अझै पुरानै ढाँचामा चलिरहेको भन्दै यसलाई सरकारले नतिजा दिन नसक्नुको कारकको रुपमा मुख्यमन्त्री गुरुङले व्याख्या गरेका हुन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी राजिष्ट्रारको कार्यालयको पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले पार्टीगत ट्रेड युनियन खारेज गर्ने समय आएको तर्क जोडदारसँग गरे ।

विगतमा राजतन्त्र र पुरानो व्यवस्था ढाल्नलाई राजनीतिक दलहरुले युनियन प्रयोग गरेको दृष्टान्त दिँदै उनले कर्मचारीतन्त्र स्थायी संरचनामा चल्न नसक्दा नै सरकारको काम प्रभावकारी हुन नसकेको जिकीर गरे । ‘सरकार बदलिनेवित्तिकै ट्रेड युनियनको पावर बदलिन्छ, युनियन बदलिने वित्तिकै त्यही युनियनको प्रभावमा कर्मचारीतन्त्र चलेको हुन्छ,’ मुख्यमन्त्री गुरुङले भने ।

कर्मचारीले आजको दिनमा पनि नतिजा भन्दा प्रक्रियामा ध्यान दिइरहेको जिकीर गर्दै उनले अब झन्झटिलो व्यवास्थाहरु परिवर्तन गर्नु आवश्यक रहेको बताए ।

प्रकाशित मिति: १४ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्