मकवानपुर प्रजिअ तामाङ्गको एकवर्षे कार्य प्रशंसनीय, १६ हजारलाई नागरिकता दिईयो, विकटकाले घरमै पाए


 


मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७५–०७६ मा आफूले सम्पादन गरेको कार्यहरुको विवरण पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको छ । हेटौंडामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले एक वर्षमा सम्पादन गरेका कार्यहरुको सम्पूर्ण बिवरण सार्वजनिक आज गरेका छन् ।

जिल्लामा एक वर्षको अवधिमा बंशज आधारमा पुरुष ७ हजार १९ जना र महिलाहरु ९ हजार ५ सय ९४ जना गरी १६ हजार ६१३ जनाले लिएका छन् । नागरिकता लिने क्रममा वैवाहिक अंगिकृत १६ जना, जन्मको आधारमा नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानलाई बंशजको नागरिकता ३० जनाले लिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।

गत बर्षको श्रावण १४ गतेबाट मकवानपुरका प्रजिअ भएर आएका तामाङ्गले जिल्ला सदरमुकाम हेटौंडाबाट टाढा र विकट क्षेत्रका नागरिकलाई सहज हुने गरी घरदैलो मै नागरिकता वितरणको विभिन्न मितिमा २१ दिनसम्म घुम्ति शिविर सञ्चालन गरेका थिए भने यसबाट बर्षौ देखि नागरिकता विहीनहरुले नागरिकता प्राप्त गर्दा प्रजिअ तामाङ्ग बधाईका पात्र बनेका छन् ।

पत्रकार सम्मेलनमा जिल्लामा शान्ति सुरक्षाको विश्वसनीय र भरपर्दो सुरक्षा व्यवस्था, नतिजामुखी र प्रभावकारी बनाउँन ३३ पटक सुरक्षा समितिको बैठक बसेको जानकारी सार्वजनिक गरिएको छ ।

जिल्ला प्रशासन, मकवानपुरले गुण्डागर्दी, संगठित अपराध, अवैध हातहतियारको प्रयोग तथा ओसारपसार नियन्त्रण, जबरजस्ती रकम असुली, महिला हिंसा लगायतका अपराधलाई नियन्त्रणमा उल्लेख्य कार्य भएको प्रजिअ तामाङ्गले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बैदेशिक रोजगारीमा गएर निधन भएकाहरुलाई आव ०७५\०७६ मा १ करोड, १३ लाख, ३९ हजार, ८ सय ७९ रुपैया वितरण गरेको छ । पत्रकार सम्मेलनमा कार्यालयले द्वन्द्व पीडित निर्वाह भत्ता, प्राकृतिक प्रकोप राहत, प्रशासनिक दण्ड, जरिवाना, जफत, खाद्य सम्बन्धि मुद्दा, बजार अनुगमन, प्रशासन परिसरमा नागरिक सहायता कक्ष सुधार, स्तनपान कक्ष लगायत सेवाग्राहीका सुविधाका लागि विभिन्न कार्य गरेको जनाईएको छ ।

समान रुपमा सेवाग्राहीलाई सेवा दिने उद्देश्यले टोकन प्रणाली लागू गर्ने अन्तिम चरणमा कार्य भईरहेको, कार्यालयको सेवा सुविधाको जानकारी नियमित विद्युतीय माध्यमबाट सार्वजनिक गरिरहेको जानकारी दिईएको छ । चालु खर्च १ करोड, ८८ लाख, ८१ हजार, १ सय २२ रुपैया र पूँजी तर्फ १ करोड, ९२ लाख, ६८ हजार, ७ सय ८० रुपैया खर्च गरेको छ ।

प्रकाशित मिति: १४ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्