काठमाण्डौँमा विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव परेन


 


काठमाडौं, साउन १५

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव राजधानी काठमाडौंमा देखिएको छैन । बिहानैदेखि निर्वाध रुपमा सवारीका साधन सञ्चालनमा आएका छन् । बन्दको हल्लाले लामो दूरीका सवारी भने सञ्चालन गर्न कठिनाई भएको यातायात व्यवसायीले बताएका छन् ।

काठमाडौं उपत्यकामा भने यातायात क्षेत्रमा बन्दको कुनै प्रभाव परेको छैन् । निजी विद्यालयहरुले भने अघोषित रुपमा विद्यालय बन्द गरेका छन् । आज बन्द आह्वान गरिएकाले नानीहरुलाई विद्यालयमा नपठाउन विद्यालय प्रशासनले आग्रह गरेको छ ।

सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहले बन्द आह्वान गरेको भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानीका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आम जनताको सम्पूर्ण सुरक्षा सरकारले लिने भन्दै बन्दको हल्लाका पछि नलाग्न गृहप्रशासनले आग्रह गरेको छ। विप्लव समूहले उपत्यका इन्चार्ज माइला लामाको गिरफ्तारीको विरोधमा बन्द आह्वान गरेको हो ।

प्रकाशित मिति: १५ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्