सहकारीहरु गाउँका “साहु महाजन” नै बनेपछि नियन्त्रण गरिँदै


 


काठमाडौं । सहकारीहरुले गाउँका साहु महाजनले भन्दा ऋणको बढी ब्याज लिएको गुनासो आएपछि सरकारले त्यस्ता सहकारीको ब्याजदर नियन्त्रण गर्ने तयारी गरेको छ । सञ्चालकले कम ब्याजदरमा ऋण लिने र साधारण सदस्यबाट बढी ब्याज लिएर उठिबास लगाउन थालेपछि सहकारीको ब्याज नियन्त्रण गर्न थालिएको हो ।

सहकारीले आफ्ना सदस्यबाट २४ प्रतिशतसम्म ब्याज लिएर ऋण लगानी गर्दै आएका छन् । गाउँका भन्दा शहरका सहकारीले ऋणको ब्याज बढी लिने गरेका छन् । सहकारीले १२ प्रतिशतदेखि २४ प्रतिशतसम्म ब्याजमा कर्जा प्रवाह गरिरहेका छन् । सहकारीले सर्वसाधारणबाट बढी ब्याज लिएर ‘लुट कान्छा लुट’ नै चलाएपछि नियन्त्रणको प्रयास थालिएको सरकारको भनाइ छ ।

ब्याजदर निर्धारण प्रक्रिया अन्तिम चरणमा पुगेको सहकारी विभागका रजिस्ट्रार डा. टोकराज पाण्डेले बताए  । ‘सन्दर्भ ब्याजदरका विषयमा सरोकारवालासँग छलफल गरेका छौं, समिति गठन गरेर अध्ययनसमेत गरिसकेका छौँ ’। उनले भने– ‘सबैको सुझाब प्राप्त भएको छ, त्यही सुझावका आधारमा ब्याजमा अंकुश लगाउने छौ।’

ब्याजदरका विषयमा नियमनकारी निकायले निश्चित मापदण्ड तय नगर्दा सहकारी संस्थाले आफूखुशी ब्याजदर तोक्दै आएका हुन् । शहर र गाउँका सहकारीको ब्याजदर फरक छ । बैंक पुगेको स्थानमा प्रतिस्पर्धा हुने भएकाले ब्याजदर अझै अझै चर्को छ ।

प्रकाशित मिति: १६ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्