संविधान दिवसमा मोदी नेपाल नआउने


 


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पटक पटक निमन्त्रणा दिएपनि उनी नेपाल आउन अझै समय जुर्न सकेको छैन ।

पहिलो पटक प्रधानमन्त्री बन्दा सपथ लिएको चार महिनापछि नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका थिए । मोदीले २०७१ वैशाख ३१ गते पहिलो पटक प्रधानमन्त्रीमा शपथग्रहण गरेका थिए भने साउन १८ गते नेपाल भ्रमणमा आएका थिए । त्यतिबेला उनको निकै प्रसंशा भएको थियो ।

उनले त्यतिबेला पनि पहिलो भ्रमण भुटान (२०७१ जेठ ३१) को गरेका थिए । त्यसपछि ब्राजिल (२०७१ असार २९) र अनि नेपालको भ्रमण गरेका थिए । यसपटक उनले पहिलो भ्रमण माल्दिभ्सको गरेका छन् भने श्रीलंका, कार्गिस्तान, जापान, भुटानको भ्रमण गरिसकेका छन् ।

यूएई हुँदै फ्रान्स गएका मोदी हिजो राती भारत फर्केका छन् । असोज ७ गतेसम्म उनको विदेश भ्रमणको कार्यतालिका तयार भइसकेको छ । तर उक्त कार्यतालिकामा नेपालको नाम समावेश नभएको स्रोतको दाबी छ ।

भारतीय विदेश मन्त्रालयका एक पदाधिकारीले भने, ‘प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने भनेर हालसम्म कुनै कार्यतालिका बनेको छैन । नेपालबाट भ्रमणका लागि निमन्त्रणा आएपनि प्रधानमन्त्री मोदीले कार्यतालिकामा राख्नुभएको छैन ।’

दोस्रो पटक मोदीले प्रधानमन्त्रीमा सपथ लिँदा त्यसमा सहभागी हुन दिल्ली गएका प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि निम्तो दिएका थिए । उनले स्वीकार गर्दै चाँडै नेपाल आउने प्रतिबद्धता पनि जनाएका थिए । त्यसयता मोदी पटक–पटक नेपाल आउने हल्ला चले पनि त्यो वास्तविकता बन्न सकेको छैन ।

शुरुमा रेल मार्ग उद्घाटनका लागि मोदी आउने तयारी भएको थियो । तर, नेपालको तर्फबाट त्यसको तयारी नपुगेको भन्दै कार्यक्रम स्थगित भएको थियो । त्यसपछि पेट्रोलियम पाइपलाइन उद्घाटनका लागि मोदी नेपाल आउने चर्चा चलेको थियो । तर त्यसमा पनि नआउने पक्कापक्की भएको छ ।

अहिले संविधान दिवसको अवसरमा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले आफ्नो भारतीय समकक्षीलाई निमन्त्रणा दिएका छन् । तर, त्यसमा पनि नआउने लगभग पक्का भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई संविधान दिवसमा आउन निमन्त्रणा दिएका थिए ।

प्रकाशित मिति: ११ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्