मन्त्री रायकाे पुत्ला जलाइयाे


 


बारा, १६ भदौ ।
बाराको निजगढमा प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायको पुत्ला दहन भएको छ ।

बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रूखहरू काट्न नदिने भनेर अभिव्यक्ति दिएको विरोधमा आइतबार निजगढको शहीदचोकमा पुत्ला दहन भएको हो ।

सामाजिक सञ्जालमार्फत आह्वान गरिएको विरोध कार्यक्रममा स्वतस्फुर्त रूपमा सहभागी भएका निजगढका युवाले पुत्ला दहन गरेका हुन् ।

इलाका प्रहरी कार्यालय निजगढ र सशस्त्र प्रहरी बेस क्याम्प निजगढको टोलीले हस्तक्षेप गरेर पुत्ला दहन नियन्त्रणमा लिएको थियो ।

विरोध कार्यक्रममा फास्ट ट्रयाक एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिका संयोजक रविराज दंगालले संघीय सरकारले शिलान्यास गर्ने तयारी गरेको बेलामा प्रदेश सरकारका मन्त्रीले दिएको अभिव्यक्ति खेदजनक भएको बताए ।

उनले विमानस्थल बनाउन जनस्तरबाट दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

प्रकाशित मिति: १६ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्