लागुऔषधसहित दुई जना पक्राउ


 


काठमाडौँ ३१ भदौ
काठमाडौँको विभिन्न स्थानबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट सुनसरी भानुचोक नगरपालिका–७ बस्ने २६ वर्षीय आशिष श्रेष्ठलाई नियन्त्रित लागुऔषध डाइजेपाम ९ एम्पुल, नुपिजेसिक ९ एम्पुल र फेनारगन ९ एम्पुलसहित आज प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धरानबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ख ९४७९ नंको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागुऔषधसहित फेला परेको प्रहरी सहप्रवक्ता उमेशराज जोशीले जानकारी दिए ।

यसैगरी काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने झापा काँकडभिट्टा घर भएका २७ वर्षीय युवराज तिमिल्सिनालाई अवैध लागुऔषध २८ ब्राउनसुगरसहित आज पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले युवराजलाई साथमा बोकी हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको जनाएको छ । दुवै जनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साथै काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोला टाउन प्लानिङस्थित हर्षित बचत तथा ऋण सहकारीबाट भदौ २५ गते चोरी गरी लगेको सेफसहित दुई जनालाई काँडाघारीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप दोरम्बा गाउँपालिका–४ का १८ वर्षीय सुनिल थापा मगर र सोही गाउँपालिका–७ ठेगाना भएका २१ वर्षीय दानबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

सहकारीबाट फलामको ८५ केजी तौलको सेफ तथा उक्त सेफमा रहेको नगद रु सात लाख ८९ हजार ९९२ र विभिन्न व्यक्तिका कागजातलगायत महत्वपूर्ण सामान चोरी भएको थियो । महानगरीय अपराध नियन्त्रण महाशाखाले उक्त चोरी गरी लगेको सेफ तथा सेफ फोड्न प्रयोग गर्ने फलामको रड, मोबाइल, नगद रु ५३ हजारसहित पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्