बालकोटको कपास उद्योगमा आगलागी


 


भक्तपुर, ५ असोज

सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ । भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ः०० बजे सल्किएको आगो फैलिएर पुराना कपडाबाट रुवा बनाउने उक्त उद्योगमा आगो लागेको कामदारले बताएका छन् ।

के कारणले आगलागी भयो भन्ने यकिन नभए पनि आगलागीका क्रममा उद्योगमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि कारखानामा आगो फैलिएको थियो । काठमाडौँ र भक्तपुरको वारूणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ । आगलागीबाट कारखानामा रहेका कपडा, कपडा पेलेर बनाइएको कालो कपास, मेशिन, औजार र अन्य सामान जलेर नष्ट भएका छन् ।

प्रहरी वृत्त थिमिमा प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले आगलागीका कारण खुलिनसकेको र घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । उनले आगलागीबाट करीब रु २५ लाख बराबरको क्षतिको अनुमान भएको र क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: ५ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्