मुख्यमन्त्रीकै नक्कली फेसबुक आइडी बनाएर निर्देशन दिएपछि…


 


सुर्खेत, असोज १२
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाममा नक्कली फेसबुक खाता खोलेको थाहा भएपछि मुख्यमन्त्रीको सचिवालयले ध्यानाकर्षण गराएको छ ।

मुख्यमन्त्री शाहीको नाममा बनाइएको नक्कली खाताबाट अवाञ्छित क्रियाकलाप भइरहेको सचिवालयले जनाएको छ । सामाजिक सञ्जालको दुरूपयोग गरी मुख्यमन्त्रीको चरित्र हत्या गर्नुका साथै आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्ने उद्देश्यका साथ कसैले नाममा खाता खोलेको हुनसक्ने मुख्यमन्त्रीका स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्रीका नाममा बनाइएको उक्त खाताबाट सुरक्षा अधिकारीलाई निर्देशन दिने काम भएको पाइएको छ । ‘दुइटा आइडी भेटियो, हामीले खोज्दै जाँदा मेजरहरूलाई निर्देशनसहितको म्यासेज गएको पाइयो’, स्वकीय सचिव सिंहले उल्लेख गरे ।

मुख्यमन्त्रीको नाममा नक्कली फेसबुक आइडी बनाउने व्यक्तिको खोजी कार्य सम्बन्धित संयन्त्र परिचालन गरेर भइरहेको उनले जानकारी दिए ।

मुख्यमन्त्रीको व्यक्तिगत फेसबुक अकाउण्टको लिंक रहेको र त्यसबाहेक अन्य लिंक खुल्ने एकाउण्टप्रति विश्वस्त नहुन सचिवालयको आग्रह छ ।

प्रकाशित मिति: १२ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्