ऐतिहासिक रामलीला मञ्चन शुरू


 


राँझा, १३ असोज

नेपालगञ्जको सांस्कृतिक पहिचानका रुपमा रहेको ऐतिहासिक रामलीला मञ्चन शुरू भएको छ । डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला प्रत्येक वर्ष विजया दशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको १५२ औँ संस्करण गएरातिदेखि प्रारम्भ भएको छ ।

त्यस्तै १५२ औँ वर्षमा प्रवेश गरेको नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई भब्य, सभ्य र सफल बनाउन विभिन्न उप समितिमा जिम्मेवारी बाँडफाँड गरी व्यवस्थापन मिलाइएको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए । उनका अनुसार, छ वटा समिति निर्माण गरेर कार्य विभाजन गरिएको छ ।

कार्यालय तथा सचिवालय व्यवस्थापन, अर्थ सङ्कलन, प्रचारप्रसार, मञ्च निर्माण र व्यवस्थापन, दर्शक व्यवस्थापन, मञ्च कार्यक्रम सञ्चालन उपसमिति गठन गरिएको छ । सञ्चालक समितिका कार्यवाहक अध्यक्ष कनोडियाका अनुसार, रामगोपाल टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगञ्जमा रामलीला महोत्सवको शुरुवात गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिका बाँकेबगियास्थित रामलीला मैदानमा महोत्सव सञ्चालन हुँदै आएको छ । भारतको बृन्दावनबाट ल्याइएका कलाकारहरुले रामलीला मञ्चन गर्छन् ।

राति ८ देखि १२ बजेसम्म रामलीला देखाइन्छ । नेपालगञ्जवासीको चासो एवं उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणबध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ । नेपालगञ्जको परम्परालाई जोगाइ राख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको प्रचारप्रसार समितिका विष्णुलाल प्रजापतिले बताए ।

उनका अनुसार रामलीला महोत्सव सञ्चालन गर्न करीब रु १५ लाख खर्च हुन्छ । वृन्दाबनका प्रसिद्ध कलाकार राधारमण शर्मा नेतृत्वको १५ जनाको टोली रामलीला मञ्चन गर्न नेपालगञ्ज आउनुभएको सञ्चालक समितिका महामन्त्री जगदिशप्रसाद वैश्यले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले रामलीला नेपालगञ्जको परिचय भइसकेको बताए । डेढसय वर्षदेखि निरन्तर चल्दै आएको रामलीलालाई भव्य र सभ्य बनाउनु नेपालगञ्जवासी सबैको दायित्व भएको उनको भनाइ थियो ।

“भगवान श्रीरामलाई जीवन्त प्रस्तुत गर्दै मानवजीवनलाई कर्तव्यबोध गराउन नेपालगञ्जमा डेढसय वर्षदेखि कला प्रस्तुत हुँदै आएको छ रामलीला” कार्यवाहक अध्यक्ष कनोडियाले भने, “धार्मिक आस्थाले मानव सभ्यतालाई मर्यादित बनाउँछ । अनुशासित जीवन पद्धतिका लागि पनि यो अपरिहार्य हुन्छ, नेपालगञ्जकै मौलिक इतिहासलाई थामेर हिँडेको छ, रामलिलाले ।”

जीवन्त कला, अर्थात भगवान श्रीरामको जीवन लीलालाई वृन्दावनबाट आएका भारतीय कलाकारहरुले हरेक दिन प्रस्तुत गर्नेछन् । यो क्रम १५२ वर्षदेखि चलिआएको प्रामाणिक तथ्य छ । विसं १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदैआएको यो कला नेपालीमाझ जति परिचित छ, त्योभन्दा कयौँ गुणा भारतीयहरूबीच लोकप्रिय छ ।

“भारतको उत्तरप्रदेशबाट लाखौँ श्रद्धालुहरु यस अवधिमा रामलीला दर्शनका लागि आउँछन्, भारतीय युवामाझ अझ लोकप्रिय हुँदै गइरहेको भने नेपाली युवाहरुमा आकर्षण बढाउन काम गर्नुपर्नेछ ।” भारतको उत्तरप्रदेशको बहराइच श्रावस्ती लखिमपुर खिरीसम्मबाट रामलीला हेर्न आउनेको घुइँचो हुन्छ । रावणबधका दिन सबैभन्दा बढी भीड लाग्ने बताइएको छ । रामलीलाका लागि भारतको मथुरा वृन्दावनबाट निम्त्याइएका दुई दर्जन कलाकारको टोलीले रामायणको दैनिक कला प्रस्तुत गर्ने छन्

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्