आज महाअष्ठमी, बलि दिएर दुर्गाभवानीको पूजाआजा गरिदै


 



काठमाडौं, असोज १९
आज दशैंको आठौं दिन अर्थात महाअष्ठमी । आज शक्तिपीठहरुमा बलि दिएर दुर्गा भवानीको पूजाआजा गरिदैछ ।

आजको दिन दशैंघर, कोतलगायत विभिन्न शक्तिपीठहरुमा पशु बलि दिएर दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्शती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ ।

आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशु बलिको महत्व छ । पशु बलि नचढाउनेहरुले पूजाकोटामा आ–आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मुला र नरिवाल आदिको बलि चढाई पूजा गर्ने गर्छन् ।

आज राति काठमाडौंस्थित हुनमानढोको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ । आजका दिन देशभरका शक्तिपीठहरुमा पशुबलिसहित पूजाआजा गरिन्छ ।

काठमाडौं उपत्यकाका गह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, बज्रयोगिनी, शोभा भगवती, दक्षिणकाली, रक्तकाली, विजेश्वरी, इन्द्रायनी, चामुण्डालगायतका शक्तिपीठहरुमा पूजाआजा गरिन्छ ।

त्यस्तै, उपत्यका बाहिर गोरखाको मनकामना, पर्साको गहवामाई, धनुषाको राजदेवी, काभ्रेको चण्डेश्वरी, डडेल्धुराको उग्रतारा, डोटीको शैलेश्वरी, अछामको सान्नीकोट, सप्तरीको छिन्नमस्तालगायतका शक्तिपीठहरुमा पशु बलिसहित पूजा गरिन्छ । आज यी शक्तिपीठहरुमा श्रद्धालु भक्तजनहरुको भुइँचो लाग्नेगर्छ ।

प्रकाशित मिति: १९ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्