सरकारी निवासबाटै पक्राउ पर्न सक्छन् महरा, यस्तो छ प्रहरीको अन्तिम तयारी


 



काठमाडौं, असोज १९
बलात्कार आरोप लागेका निवर्तनमा सभामुख कृष्णबहादुर महरा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ पर्न सक्ने देखिएको छ ।

संसद सचिवालयमा कार्यरत रोशनी शाहीले बलात्कार प्रयासमा महराविरुद्ध जाहेरी दिएपछि प्रहरीले फाइल तयार पर्दै आइतबार महरालाई पक्राउ गर्ने तयारी गरेको छ । रोशनीले शुक्रबार राति मात्रै महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

शनिबार सार्वजनिक विदा भएकाले अदालतबाट पक्राउ पुजी तयार नहुने हुँदा प्रहरीले महरालाई आइतबार पक्राउ गर्ने तयारी गरेको हो ।

प्रहरीले आइतबार जिल्ला अदालत काठमाडौंबाट महराको पक्राउ पूर्जी लिने अन्तिम तयारी गरेको बताइएको छ । प्रहरीले पक्राउ पूर्जीका लागि फाइल पेश गर्ने भएको छ ।

प्रहरीले महरालाई पक्राउ गर्ने तयारी गरिरहँदा महरा अहिले पनि सभामुख निवासमै रहेका छन् । उनी डेरा नपाएको भन्दै सोही निवासमै बसिरहेका हुन् । यसकारण अदालतबाट पक्राउ पूर्जी जारी भएपछि महरा सरकारी निवासबाटै पक्राउ पर्ने देखिएको छ ।

सम्भवत: महरा परिवार आइतबार नै डेरा सर्नेछ । डेरा सरेमा उनलाई सरकारी निवास भन्दा बाहिरबाटै पक्राउ गर्ने मनसाय प्रहरीले बनाएको स्रोतको भनाई छ ।

आफूमाथि बलात्कार आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिइसकेका छन् । सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।

उनी सम्बद्ध नेकपाले भने सांसद पदबाट पनि राजीनामा दिन निर्देशन दिइसकेको छ । तर, त्यो निर्देशनलाई भने उनले अटेरी गरिरहेका छन् ।

प्रकाशित मिति: १९ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्