स्क्रब टाइफस कसरी पहिचान गर्ने र कसरी बच्ने ?



डा. मदनकुमार उपाध्याय

धनकुटा लगायत केहि पहाडी जिल्लाहरुमा स्क्रब टाइफसको संक्रमणको प्रकोप देखिएको छ । यो रोग संक्रमित भुसुना, किर्ना, सुलसुले, उपियाँँ वा सुक्ष्म किराको टोकाइबाट मानिसमा सर्दछ ।

स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ ले संक्रमित सूक्ष्म कीरा (माइट) को टोकाइबाट फैलिन्छ । संक्रमित सुलसुले लगायतका सूक्ष्म कीराले मानिसलाइ टोक्दा उनीहरुको ¥यालमा भएको ‘रिकेटसिया सुसुगामुसी’ जीवाणु रगतमा फैलिन्छ । जापानी शब्द ‘सुसुगा’ को अर्थ सानो र खतरनाक एवं ‘मुसी’ को अर्थ सूक्ष्म कीरा हुन्छ ।

बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार रिकेटसियाबाट संक्रमित जुम्राको टोकाइबाट समेत यो संक्रमण हुन्छ । यो स्क्रब टाइफस फैलाउने सूक्ष्म कीरा मुख्यत : झाडी, घाँस जंगल, खेतको छेउछाउ, पहाडी इलाका आदि भएको ठाँउमा रहने मुसा प्रजातिका जनावरमा बढी पाइन्छन् । त्यसैगरी वर्षायाममा पनि सहरी क्षेत्रमा समेत जंगली बोटबिरुवा वा घाँस नजिक यो किराले टोक्ने खतरा रहन्छ । स्क्रब टाइफस जनावरबाट सर्ने तर मानिसबाट मानिसमा सर्ने रोग भने होइन ।
लक्षण
– १०२ ( १०५ डिग्री फरेन हाइटसम्म ज्वरो आउनु
– अत्याधिक टाउको दुख्नु
– सास फेर्न समस्या हुनु,
– शरीर बाउँडिनु
– जीउ, जोर्नी र मांसपेशीमा पीडा हुनु
– खोकी, वाकवाक, वान्ता, पेट दुखाइ र पखालाले सताउनु
– बढी संक्रमण हुँदा गर्दन, नितम्ब, पाखुरामा गाँठो देखिनु
– बिरामीको गम्भीरता अनुसार रगतमा प्लेटलेटसको संख्या कम हुनु
– छाती, पाखुरा, हातखुट्ठासम्म फैलिने गुलाबी बीमिरा देखिनु
यो रोगको पहिचान विरामीमा देखिएको लक्षण र सूक्ष्म कीराले टोकेको चिनो देखेर पनि गरिन्छ । यसमा रगत परीक्षण अन्तर्गत सीबीसी काउन्ट, लिभर फंग्सन टेस्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रूत परीक्षण समेत गर्न सकिन्छ ।
एनएचएसका अनुसार स्क्रब टाइफसको आशंका भएका बिरामीलाई प्रयोगशाला प्रतिवेदन आउनुभन्दा पहिलेदेखि नै एन्टिबायोटिक औषधी दिन सकिन्छ ।
संक्रमितलाई ‘डक्सिसाइक्लिन’ वा ‘टेट्रासाइक्लिन’ एन्टिबायोटिकका माध्यमले उपयुक्त रुपले उपचार गरिए धेरै जसो बिरामीमा ४८ घण्टाभित्रै सुधार देखिन थाल्छ । बिरामीहरु पूर्ण स्वस्थ्य समेत हुन्छन् ।
टाइफसको समस्या भएका ठाउँहरुमा जाँदा सम्भावित संक्रमणबाट जोगिन चिकित्सकीय सल्लाह अनुसार ‘डक्सिसाइक्लिन’ एन्टिबायोटिक औषधीको एकसाते उपचार प्रक्रिया गर्न सकिने एनएचएसको तथ्यपत्रमा उल्लेख छ । यो प्रक्रिया मुख्य रुपले स्क्रब टाइफसबाट बचाउ गर्न प्रभावकारी छ ।
स्क्रब टाइफसको उपयुक्त उपचार नगर्दा दीर्घकालीन रुपमा सुन्ने क्षमता गुम्नु, निम्न रक्तचाप, अगंमा क्षति र मृगौला फेल हुनु, निमोनियाको संक्रमण देखिनु, छारे रोगको लक्षण, अन्योल,सुस्त हुने, मासु कुअिनु आदि समस्या देखिन सक्ने एनएचएसले जनाएको छ । यस्ता बिरामी बहुअंग विकार (मल्टि अर्गान डिजअर्डर) को अवस्थामा पुग्छन् ।
हाल यो संक्रमण धनकुटा, संखुवासभा, भोजपुर,सुनसरी, इलाम धादिङ, चितवन, नुवाकोट, सुर्खेत, मकवानपुर, सिन्धुली, सर्लाही, कास्की, गोरखा, बारा, बर्दिया, दाङ, राजधानी काठमाडौं लगायत २० जिल्ला भन्दा बढी स्थानमा भेटिएको छ । गत वर्ष यो संक्रमण संखुवासभा, भोजपुर, धनकुटा, सिराहा, कैलाली, रामेछाप जिल्लामा देखिएको थियो ।
हाम्रो मुलुकमा स्क्रब टाइफस बढी मात्रामा बालबालिकामा पाइए पनि यो संक्रमण सबै उमेर समूहमा देखिन्छ । अहिले पुर्वी भेगामा ‘स्क्रब टाइफस’ का संक्रमित बालबालिका बढी रहेको बेला रगत परीक्षण गर्ने किट (उपकरण) अभावमा समस्या भएको छ । यो कीट पूर्वका कुनै पनि अस्पतालमा उपलब्ध छैन ।
यो नयाँ रोग होइन । व्यक्तिगत सरसफाइ, खाद्य स्वच्छता तथा किर्ना र मुसाको प्रत्यक्ष तथा अप्रत्यक्ष संक्रमणबाट जोगिनु पर्छ । संक्रमणको सुरुमै उपयुक्त एन्टिबायोटिकले उपचार गर्दा रोग निको हुन्छ ।
(लेखकः धनकुटा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हुन् ।)

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News