स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : स्वास्थ्यमन्त्री यादव


 


वासिङ्टन डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानुनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउने तथा औसत आयु वृद्धिमा सफलता प्राप्त गरेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ बैठकलाई आज न्युयोर्कमा सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले स्वास्थ्य सेवाको विकासलाई उच्च प्राथमिकता दिएर तदनुरुप काम भइरहेको बताए ।

तीन दशक अगाडि कायरोमा सम्पन्न जनसंख्या तथा विकास आयोगको बैठकमा उपस्थित १७९ देशले स्वीकृत गरेका कार्यक्रम कार्यान्वयनलाई सरकारले प्राथमिकता दिएको उनले बताए ।

मन्त्री यादवले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न हरसम्भव प्रयत्न भएको जानकारी दिए । उनले भने, “नेपालले संविधानमा नै प्रजनन अधिकार, सुरक्षित मातृत्व, लैंगिक समानता, मानवअधिकारजस्ता मौलिक अधिकारलाई सुनिश्चित गरेको छ । आफ्ना नागरिकको जीवनस्तर उठाउन नीतिगत व्यवस्थाका साथै योजना तथा कार्यक्रम कार्यान्वयनमा जोड दिँदै आएको छ ।”

युवा जनशक्तिलाई स्वदेशमै रहने वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउँदै मन्त्री यादवले शिक्षा, स्वास्थ्य, प्रविधि, व्यवसाय, क्षमता अभिवृद्धिका लागि बाह्य लगानी अपरिहार्य भएकामा जोड दिए ।

उनले नयाँ जनसंख्या नीति निकट भविष्यमा सार्वजनिक गर्ने जानकारी दिए । उनले जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिप्रति चिन्ता व्यक्त गरे । रासस

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्