आउँदाआउँदै एक्सनमा नवनियुक्त यातायात मन्त्री नेम्वाङ, टुटल र पठाओ फेरि चल्ने


 


काठमाडौं, मंसिर ११

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले टुटल र पठाओको सन्चालन यथावत राख्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा सोमबार सचिव, सहसचिव र यातायात व्यवस्था विभागमा महानिर्देशकलाई बोलाएर मन्त्री नेम्वाङले टुटल र पठाओलाई सेवा सञ्चालनमा अवरोध नगर्न निर्देशन दिएका हुन् । आफूले मन्त्रालय सम्हाल्नानसाथ थालिएको कारवाहीले गलत सन्देश दिन सक्ने भन्दै उनले कानुन पनि बनाउँदै गर्न तथा सन्चालन समेत नरोक्न आग्रह गरे ।

यातायात व्यवस्था विभागले मंसिर ४ गते सूचना निकालेर निजी सवारीले भाडा लिएर यात्रु बोके कारवाही गर्ने चेतावनी दिएको थियो । जसको चौतर्फी विरोध भइरहेको छ ।

मन्त्री नेम्वाङले कानूनी र नीतिगत व्यवस्था तथा यस्ता सेवामाथि नियमन गर्न भइरहेका तयारीका केही रिपोर्ट भए आफूलाई दिन निर्देशन दिएका छन् । ‘सरकार पुनर्गठनलगत्तै थालिएको यस किसिमको कारवाहीले कन्फ्युजन सिर्जना भयो, यस्ता सेवा २–३ वर्षदेखि चलिरहेका छन्,’ मन्त्री नेम्वाङले भने, ‘अहिले चालिएको कारबाही रोकेर यथास्थितिमै छाडिदिनुहोला ।’

यसअघि निर्वाध रुपमा चलिरहेको सेवालाई एक्कसी रोक्न खोज्दा गलत सन्देश जानसक्ने नेम्वाङको भनाइ थियो ।

प्रकाशित मिति: ११ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्