‘कालापानी र लिपुलेक मिच्दा समेत देउवाले भारतको दलाली गर्न छाडेनन्’


 


अछाम, मंसिर ११

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावलले कालापानी र लिपुलेक मिचिँदा समेत विपक्षी दलका नेता शेरबहादुर देउवाले भारतको दलाली गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेसका सभापति देउवाले जनतामा भ्रम सिर्जना गरेर भारतीय दलालको काम गरेको रावलको आरोप छ।

देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको भन्नु भारतीय पक्षलाई रिझाउने काम भएको रावलले दाबी गरे । अछाममा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्रीले नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतीय नक्सामा समावेश गर्न सहमति दिएको प्रमाण भेटिए पार्टीले कारवाही गर्ने स्पष्ट पार्दै मिथ्या आरोप नलगाउन देउवालाई सचेत गराए ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गर्ने प्रधानमन्त्री दिएको सहमतिको प्रमाण ल्याउन पनि उनले चुनौती दिए । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकोमा कुनै द्विविधा नभएको भन्दै भारतसँग कुटनीति ढंगबाट वार्ता गरी जमिन फिर्ता गरिने उनले स्पष्ट पारे ।

प्रकाशित मिति: ११ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्