सरकारी वेवास्ताले बन्धक भयो संसद्


 


जनकपुर पुस २८

अघिल्लो आर्थिक वर्षको योजनाको रकम भुक्तानी विवादले प्रदेश २ को संसद् बैठक अवरुद्ध हुने क्रम लम्बिएको छ ।

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएपछि यतिबेला प्रदेश सरकारमाथि प्रश्न उठ्न थालेको छ । सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको छ । अब अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रदेश २ को बैठक लामो समयदेखि बस्न सकेको छैन । पुसको १४ र १५ गते आह्वान गरिएको प्रदेशसभाको बैठक प्रतिपक्षी तथा केही सत्तारुढ सांसद समेतले अवरुद्ध गरेका थिए ।

गत आर्थिक वर्षमा सन्चाति योजनाहरुको भुक्तानी दिनुपर्ने माग गर्दै दुई दिन संसद अवरुद्ध गरिएपछि १७ गतेका लागि आह्वान गरिएको बैठक बस्दै नबसी स्थगित भएको थियो । त्यसपछि २४ गते बस्ने भनिएकोमा उक्त दिन पनि स्थगित गर्दै २८ गते सोमबारका लागि निर्धारण गरिएको थियो ।

तर सोमबार पनि बैठक बस्न सकेन । र, अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको सूचना प्रदेशसभा सचिवालयले जारी गरेको छ ।

प्रदेशसभाको बैठक अन्यौल भएसँगै प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पनि अन्यौलमा परेको छ भने दर्ता गरिएका विधेयक उपरको छलफल समेत सुरु हुन सकेको छैन ।

विपक्षी दलहरुले सत्तापक्षको नालायकीले यस्तो अवस्था आएको आरोप लगाएका छन् ।

प्रकाशित मिति: २८ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्