नेपालीका नाममा अवैध चन्दा उठाउदै अमेरिकन नागरिक


 


काठमाडौं , माघ २
अमेरिकी नागरिक मिसेल अलेक्जेण्ड्रा वेल्चले नेपालमा बसेर पैसा कमाउन अवैध धन्दा सञ्चालन गरेकी छन् । पोखरामा बसेकी मिसेलले नेपालका विभिन्न समस्या देखाउँदै विदेशबाट रकम संकलन गरिरहेकी छन् । ६ वर्षअघि नेपाल घुम्न आएकी मिसेलले पछिल्लो समय बिजनेस भिसामा नेपाल बसेर अवैध धन्दा चलाइरहेको पाइएको छ ।

भिजिट भिसाबाट नेपाल प्रवेश गरेकी मिसेलले सुरुमा रिसर्चका लागि नेपाल आइन् र पोखराको पृथ्वीनारायण क्याम्पसमा पढाउन थालिन् । रिसर्च भिसाको पनि म्याद सकिएपछि उनी २ वर्षयता बिजनेस भिसामा पोखरा बसिरहेकी छन् । उनले पोखराको न्यूरोडमा लर्निङ हाउसको नामबाट अशिक्षा, गरिबी, स्वास्थ्य क्षेत्रमा निशुल्क सेवा गर्ने भन्दै विदेशवाट रकम उठाउँदै आएको भेटिएको छ ।

त्यति मात्रै हैन गुम्बाको समस्या देखाएर पनि उनले सहयोग माग्ने गरेकी छिन् । तर, उनले संकलन गरेको रकम कुनै गुम्बाले पाएको छैन । अन्तराष्ट्रियस्तरमा सहयोग संकलन गर्न प्रयोग गरिने अनलाइन इन्डिगोगोमा नेपालमा लोडसेडिङको समस्या भएको देखाउँदै पोखराको माटेपानी गुम्बाको नाममा नविकरणीय ऊर्जा प्रयोग गर्ने योजना लेखेर सहयोग मागिन् र १० हजार डलर उठाइन् ।

उनले त्यस अनलाइनमा पोखराको माटेपानी गुम्बाका भिक्षु र विद्यार्थीका समस्या उल्लेख गर्दै भिक्षुहरुको फोटोसहित लेखेकी छन् ‘नेपालमा दैनिक १६ घण्टा लोडसेडिङ हुन्छ, यो लोडसेडिङ हटाउन, गुम्बाका कक्षाकोठा र गुम्बामा नवीकरणीय बिजुली प्रदान गर्न चाहन्छौँ ।’ उनले इन्डिगोगोमार्फत सहयोग माग गरेपछि केही समयमै १० हजार भन्दा धेरै अमेरिकी डलर जम्मा भयो । अहिले माटेगुम्बामा लोडसेडिङ छैन ।

तर, मिसेलको सहयोगबाट नभइ नेपाल विद्युत् प्राधिकरणले नै नियमित विद्युत् प्रशारण गरिसकेको छ । त्यस्तै समुदाय, नेतृत्व विकास र शिक्षाका लागि भनेर लर्निङ सेन्टर सञ्चालन गर्न सहयोग मागेपछि १४ हजार १७६ अमेरिकी डलर जम्मा भयो । यो रकम पनि उनले नेपाल ल्याइनन्, कहाँ गयो खुलेको छैन । उनले सहयोग संकलनका लागि प्रयोग गरेको इन्डिगोगो अनलाइनले उल्लेख गरेअनुसार पोखराका गरिब जनतालाई कफी बनाउने तालिम, नेतृत्व विकास तालिम सञ्चालन गर्न पनि सहयोग संकलन गरेकी थिइन्।

त्यसो त फिल्म फेस्टिभल गर्न भन्दै ४ हजार डलर सहयोग मागिन् । पोखरामा पहिलो आउट डोर फिल्म फेस्टीभल गर्न भन्दै २०१८ को सेप्टेम्बर ९ गते सहयोग आह्वान गरेकी थिइन् । उक्त शीर्षकमा ३९२० अमेरिकी डलर सहयोग संकलन भएको देखिन्छ । सहयोग संकलन भए पनि उनले पोखरामा फिल्म फेस्टिभलको आयोजना नै गरिनन् । संकलित रकम कहाँ खर्च भयो भन्ने खुलेको छैन ।

ठग्नकै लागि लागि ‘खाता लाइफ’ वेबसाइट इन्डिगोगोमार्फत लगातार सहयोगको आह्वान गर्दा दाताहरुले शंका गर्ने अनुमान लगाउँदै मिसेलले आफैँ ‘खाता लाइफ’ नामको वेभसाइट सञ्चालनमा ल्याएकी छिन् । उनले आफ्नो स्वामित्वमा रहेको खाता लाइफमार्फत पनि ७ लाख भन्दा धेरै अमेरिकी डलर संकलन गरिसकेको लेखेकी छन् । यो रकम पनि उनले कहाँ खर्च गरेकी छन् कसैलाई थाहा छैन । सहयोग संकलन भने जारी छ ।

नेपालमा बसेर अमेरिका तथा विभिन्न देशबाट सहयोग संकलन गरेकी मिसेलले वेबसाइटमा आफुलाई सामाजिक कार्यकर्ता र लेखक भनेर चिनाएकी छिन् ।

प्रशासनमा उजुरी

सहयोगको नाममा विभिन्न माध्यमबाट रकम संकलन गरेर नेपालमा खर्च नगर्ने मिसेलविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीमा पोखराको न्यूरोडमा रहेको लर्निङ हाउस प्रालिले नियम विपरीत काम गरेको उल्लेख छ ।

त्यस्तै उजुरी पत्रमा लर्निङ हाउसकी सञ्चालिका अमेरिकी नागरिक मिसेल अलेग्जेन्द्रा विल्सले संस्थाको उद्देश्य विपरीत काम गरेको भन्दै एक व्यक्तिले मंसिर २२ गते पोखरा अध्यागमन र पुस १० गते जिल्ला प्रशासन कार्यालय पोखरामा उजुरी दिएका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नेपालमा बसेर मिसेलले व्यापार गरेको भन्दै उजुरी परेको जानकारी दिए। मिसेलले संस्था दर्ता गर्दा गैरनाफामुलक संस्था भनेर उल्लेख गरिएको छ । राजधानी दैनिकबाट

प्रकाशित मिति: २ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्