कक्षा १० मा स्थानान्तरण व्यवस्था


 


काठमाडौं जेठ २५

भूकम्पपीडित विद्यार्थीलाई सहज र सुरक्षित वातावरणमा अध्ययन–अध्यापनको व्यवस्था मिलाउन सरकारले कक्षा १० मा पनि विद्यालय स्थानान्तरणको व्यवस्था गरेको छ। मन्त्रिपरिषद बैठकले शुक्रबार भूकम्पप्रभावित क्षेत्रका कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई स्थानान्तरण सुविधा दिने निर्णय गरेको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए। गत सोमबार शिक्षा मन्त्रालयले पठाएको उक्त प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गरेको उनले जानकारी दिए।

भूकम्पप्रभावित क्षेत्रका अधिकांश विद्यालय भत्किएर पठनपाठन गर्ने अवस्था नरहेकाले कक्षा १० का विद्यार्थीका लागि सरकारले स्थानान्तरण सुविधा दिएको हो। यो व्यवस्था विशेष परिस्थितिका कारण यस वर्षका लागि मात्र गरिएको मन्त्री पण्डितले प्रष्ट्याए। ‘काठमाडौंकै धेरै घर भत्किएका छन्, स्कुल चर्केका र भत्केका छन्,’ मन्त्री पण्डितले भने, ‘बालबालिकालाई आमाबुवासँगै बसेर पढ्ने अवसर प्राप्त होस् भनेर यस्तो निर्णय गरिएको हो।’

यसअघि कक्षा ९ मा जुन स्कुलमा विद्यार्थी भर्ना भएका हुन्छन्, त्यही विद्यालयमा कक्षा १० पढ्नुपर्ने बाध्यकारी व्यवस्था शिक्षा नियवालीमा छ। विद्यार्थीले कक्षा ९ मै रजिस्ट्रेसन फारम भर्नुपर्ने व्यवस्था रहेको शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले बताए। यसअघि बसाइँ सरेका, अभिभावक सरकारी कर्मचारी भए सरुवा भएर अन्यत्र गएका वा बिहे भएका छात्राले विद्यालय स्थानान्तरण गर्न पाउने व्यवस्था छ।

‘विद्यार्थीले कक्षा ९ मा जुन स्कुलबाट रजिस्ट्रेसन फारम भरेको छ, त्यहींबाट एसएलसी दिने व्यवस्था नियमावलीमा छ,’ निर्देशक नेपालले भने, ‘यस वर्ष भूकम्पका कारण ६ हजारभन्दा बढी स्कुल क्षति भएका छन्, कक्षाकोठामा बसेर पढ्नसक्ने अवस्था छैन त्यसैले स्थानान्तरणको व्यवस्था गरेका हौं।’

शिक्षा विभागका अनुसार हाल कक्षा ९ मा ४ लाख ३० हजार र कक्षा १० मा ४ लाख ३५ हजार विद्यार्थी अध्ययनरत छन्। भूकम्पबाट ४९ जिल्लाका १९ हजार २ सय ८९ विद्यालयमध्ये ६ हजार ९ सय २ विद्यालय प्रभावित भएका छन्। १६ हजार ४ सय ७५ कक्षाकोठा पूर्ण क्षति, ७ हजार २ सय ६६ कक्षाकोठा अधिक क्षति, १२ हजार ६ सय १३ कक्षाकोठा सामान्य क्षति भएका छन्।

२ हजार १ सय ६ शौचालय, १ हजार ४ सय ५९ विद्यालयको पर्खाल र १ हजार ३ सय ६३ विद्यालयको खानेपानीमा क्षति पुगेको विभागको तथ्यांक छ।
नागरिक दैनिक

प्रकाशित मिति: २५ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्