विदेशको ५० डिग्री तापक्रममा काम गरिरहेका युवालाई सलाम गर्छु, डीभी पीआर लिनेलाई होइन


 


मन्त्री लालबाबु पण्डित

डिभी, पिआर तथा ग्रिनकार्ड लिएका कर्मचारीलाई सरकारी जागिर निषेध गर्ने गरी निजामती सेवा ऐन संशोधन भएको छ र यो कार्यान्वयनमा पनि आइसकेको छ । यसको लागि मैले १७ महिना संघर्ष गर्नुपर्यो । सुरुमा मैले यो विचार सार्वजनिक गर्दा ठीक छैन भन्नेहरु थिए ।

मैले लगातार यसको पक्षमा वकालत गरिरहें । जनताको तहदेखि मन्त्रिपरिषद र राष्ट्रपतिसम्म छलफल गरें । मन्त्रिपरिषदमा झण्डै डेढ महिना छलफल भयो । संसदमा त एकवर्ष छलफल नै भयो । सहज र सरल रुपमा आएको हैन यो व्यवस्था । परिणाम अब दिन थालिसकेको छ । संघर्षको फल मिठो हुन्छ ।

ऐनमा व्यवस्था भैसकेको छ । ३० दिन स्वःघोषणा गर्न दिइएको छ । लिएकाले थप ३० दिन रद्द गर्ने समय पाउँछन् । त्यसपछि कसैको उजुरी आयो र शंका भयो भने छानबीन हुन्छ र प्रमाणित भयो भने तीन महिनाभित्र बर्खास्त हुन्छ । राष्ट्रसेवक कर्मचारीका श्रीमान या श्रीमतीले लिएको छ भने पनि रद्द गराउनुपर्छ ।

राज्य व्यवस्था समितिबाट पारित भएपछि जागिरको राजीनामा दिने क्रम सुरु भएको छ । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि झन् जागिर छोड्ने बढेका छन् । यथार्थ विवरण पछि आउँछ । तर जेहोस् नेपाली नागरिकता बोक्दैमा, नेपाली हुँ भनेर गौरव गर्दैमा राष्ट्र प्रतिको जिम्मेवारी बिर्सिन्छ भने उसलाई हामी माखेसाङ्लोले पक्रेर, उनीहरुले नेपाल बनाइदिन्छन् भनेर आशा गर्नु हुँदैन ।

विदेशको ५० डिग्री तापक्रममा काम गरिरहेका युवाहरुलाई म सलाम गर्छु । मैले प्रस्ताव गरेको छु अबको १० वर्षमा विदेशमा रहेका युवालाई स्वदेशमा भित्र्याउने र उनीहरुलाई देशभित्रै काम दिने । यो वातावरण हामीले तयार पार्नुपर्छ ।
देशको सेवा गर्छु भनेर काम गर्ने, तर सपना पनि बिपनामा पनि विदेश देख्ने, स्वर्ग पनि उतै देख्ने, नेपाललाई केही नगर्ने, तर नेपाली जनताको मेहनत पसिनाबाट उठेको कर चाहिँ लिने, नेपाली भन्ने, तर नेपालीको कर्तव्य र जिम्मेवारी पूरा नगर्ने । निजी स्वार्थमा तल्लिन हुनेलाई रोक्नको लागि यस्तो व्यवस्था गरिएको हो । राष्ट्र निर्माणमा नलागेर डुल्दै हिँड्नेहरु कहिल्यै सफल हुँदैन । कतिपय जाति, समुदाय छन् जो आफ्नो घर एक ठाउँमा बनाउँदैनन् र डुलन्ते र फिरन्ते हुन्छन्, उनीहरु कहिल्यै विकसित भएको देखिँदैन । कहिँ पनि मगन्तेहरु समृद्ध भएको छैन । मेहनत गर्ने र पसिना बगाउनेहरु नै समृद्ध भएका छन् ।

नेपालका केही राष्ट्रसेवकहरु फिरन्ते हुने, नेपाललाई स्थायित्व नदिने, संसारभर चाहार्ने, मर्नेबेला मात्रै नेपाल फर्कने । त्यसैले मैले भनेको छु, मर्नेबेला मात्रै नेपाल सम्झने र फर्कनेहरुबाट केही आशा गर्न सकिंदैन । भूपू नेपालीबाट केही आशा गर्न सकिंदैन । बिरामी भयो भने सस्तो हुन्छ भनेर यहाँ आउँछन् ।

अनि मर्दाखेरी उता लास गाड्न पनि महंगो हुने भएकाले मर्ने बेला भएपछि नेपाल आउँछन् । आफ्नो शरीर काम नलाग्ने भएपछि मात्र नेपाल आउनेको के महत्व छ ? त्यसकारण नेपालीले पौरख नेपालमै गर्नुपर्छ ।

भूपू प्रधानमन्त्री अहिले कति नेपालमा छन्, कति छैनन् । मुख्य सचिव भएको मान्छे पीआर लिएर विदेशमा बसिरहेको छ । पूर्व प्रधानन्यायधीश पनि अर्कै देशको पिआर लिएर बसेका छन् । नेपाललाई अपमान गर्ने अधिकार कसैलाई छैन र कसैलाई छुट दिन हुँदैन ।

देशको प्रधानमन्त्री, मुख्य सचिव, प्रधानन्याधीश र राजदूतले देश बनाउने जिम्मा लिएका हुन्, त्यसैले जिम्मेवार बन्नुपर्छ । गरीब, मजदूर, बेरोजगार युवाले देश बिगारेका त होइनन् नि ।
मैले कता कता सुनेको छु, खोजी गरिरहेकी छु, प्रमाणित गर्न बाँकी छ, राष्ट्र बैंकका डेपुटी गभर्नर, सचिव र सहसचिवले पनि लिएका छन् रे ।

मन्त्रीज्यूहरुको बारेमा पनि सञ्चारमाध्यममा आएका छन्, मलाई मन्त्रीज्यूहरुले होइन भन्नुभएको छ । हो भने प्रधानमन्त्रीज्यूले त्यस्ता मन्त्री राख्ने नराख्ने निर्णय गर्नुपर्छ । मैले सुरुदेखि नै भन्दै आएको छु कसैलाई पनि छुट हुनु हुँदैन ।

नेपाल सरकारको एक रुपैंया पनि लगानी भएको ठाउँमा यो नियम लागू हुने तयारी भैरहेको छ । भोलि कुनै स्तरको चुनाव लड्न जानुअघि उ र उसको परिवार विदेशको आवासीय अनुमति लिएको छ कि छैन जनताले खोज्नेछन् ।

यो ऐन बनाउनको लागि मैले धेरै दबाब खेप्नुपर्यो । कुनै ठाउँ यस्तो छैन, दबाब नखेपेको । दबाबसँगै सहानुभूति र सहयोग पनि धेरै भयो । यसको पक्षमा जनसमर्थन बलियो हुँदै गएपछि दबाब पनि कम हुन थाल्यो । अहिलेको परिस्थितिमा मैले राष्ट्रियताको परिभाषा नै फेरिदिएँ । डिभी, पिआर तथा ग्रिनकार्ड लिएका कर्मचारीलाई सरकारी जागिर निषेध गर्ने यो व्यवस्था दक्षिण एसियामै पहिलो प्रयास हो ।

मैले यो कुरा उठाएपछि चिनियाँ राजदूतले मसँग दुईपटक भेट गर्नुभयो । त्यसको केही महिनापछि नै चीनमा लागू भयो । नेपालमा चाहिँ १७ महिना लाग्यो । ढिलै भएपनि सुरुवात भयो । अब यो ऐन कसले रोक्न सक्छ ? जनप्रतिनिधिले रोक्छ ? कुन सरकार आउला ? कार्यान्वयनमा गैसक्यो ।

कसैले पनि भविष्यमा रोक्न सक्दैन । व्यापक समर्थन र साथ सहयोगले आएको हो । यसले संसारभर सन्देश दिएको छ, राष्ट्र निर्माणमा लाग्नुपर्छ भन्ने । मलाई एउटा दुःख लाग्छ, पैसा बढी भयो विकसित देशमा जान्छन् । विकसित मुलुकका मानिस गरीब भयो भने घुम्न नेपाल आउँछन् ।
यो नियम लागू गर्न अब गाह्रो हुँदैन । मूलढोकाबाट प्रवेश गर्न गाह्रो थियो । अब मूलढोकाबाट प्रवेश भैसक्यो । अब कोठाकोठा, चोटाचोटामा गएर सबै ठाउँ लागू हुन्छ । डुप्लिकेट नेपालीहरु जसलाई नेपालको माया पनि छैन, तिनीहरु नेपालमा नरहन पनि सक्छन् ।

आफ्नो जिम्मेवारी र कर्तव्य पूरा नगर्ने तथा परबाट नेपाललाई सराप्नेहरु नेपाली नै होइनन् । संसारभरका युवाहरुलाई आग्रह गर्छु, तपाईं आफ्नो सम्पूर्ण बुद्धि विवेक लिएर नेपाल बनाउन आउनुहोस् । आउन पनि थाल्नुभएको छ । पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा दिपकराज जोशी १० हजार डलर मासिक तलब खानुहुन्थ्यो ।

ग्रिनकार्ड छोडेर नेपालमै केही गर्छु भनेर आउनुभएको छ । तपाईं पनि अरुले बनाएको स्वर्गमा नरमाउनुहोस् । आफ्नो ठाउँमा पौरखी भएर बाँच्नु सुखी र सम्पन्न हुनु हो । नेपालमा के छैन ? धेरै कुरा छ । मात्र हामीले गर्न बाँकी छ ।

(सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग उज्यालो अनलाइका मिलन तिमिल्सिनाले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: ५ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्