सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा : प्रधानमन्त्री ओली


 


काठमाडौँ, माघ २

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताउनुभएको छ ।  एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौँ, भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचना भूकम्प प्रतिरोधी र सुरक्षित बनाउँदैछौँ ।”

सरकार २०७२ सालको भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माणमा जुटेको उल्लेख गर्दै उहाँले कोही पनि भूकम्पपीडित नछुटुन् भनेर भूमिहीन, ऐलानी र प्रतिजग्गामा बसोबास गरिरहेका परिवारका लागि समेत सुरक्षित आवास पुनःनिर्माण गर्ने व्यवस्था गरेको बताउनुभयो ।

“पैसा नभएर घर निर्माण गर्न नसकेकालाई प्राथमिकतामा राखेर सहुलियत कर्जा उपलब्ध गराउनका लागि सहुलियत कर्जासम्बन्धी एकीकृत कार्यविधि जारी गरी लागूसमेत गरिसकिएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “ज्येष्ठ नागरिक, व्यक्ति र बालबालिकाका लागि थप रु ५० हजार अनुदान दिने र भूकम्प प्रतिरोधी घर पुनःनिर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्रक्रिया शुरु भइसकेको छ ।”

सरकार पुनःनिर्माणको काम दिगो होस् भनेर स्थानीय तहलाई स्रोत साधन र कार्य जिम्मेवारीसमेत हस्तान्तरण गरिरहेको र पुरातात्विक सम्पदाको पुनःनिर्माण गर्दा परम्परागत मौलिकता कायम गर्न विशेष ध्यान दिइएको प्रधानमन्त्रीले दिनुभएको सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्