वर्षौं पूरानो खाद्य गोदाममा १५ सैयाको अस्पताल ! उपमहानरपालिकाले नै दियाे स्वीकृति


 


अंकुश कुँवर
धनगढी, वैशाख १०

कैलालीको धनगढीस्थित खाद्य संस्थाको गोदाममा मापदण्डविपरित सञ्चालनमा ल्याइएको सारथी अस्पताललाई धनगढी उपमहानगरपालिकाले स्वीकृति दिएको छ । सो अस्पताललाई धनगढी उपमहानगरपालिकाले सञ्चालन स्वीकृति दिएको छ ।

उपमहानगरपालिकाले नेपालको संविधान २०७२ को अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ४ को देहाय (ख) बमोजिम जनरल अस्पतालका रुपमा पाँच वर्षका लागि स्वीकृति दिएको हो । उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडद्वारा हस्ताक्षरित पत्रमा ‘अनुगमन तथा निरीक्षणको क्रममा निर्देशिका पालना नगरी कुनै किसिमको कमी कमजोरी भएको पाइएमा आवश्यक कारबाही गरिने’ भन्ने उल्लेख छ ।

अस्पताल मापदण्डअनुसार सञ्चालन नभएको थाहा हुँदाहुँदै पनि नगरप्रमुख वडले स्वीकृति पत्रमा ‘संविधान र ऐनको हवाला दिँदै अनुगमन तथा निरीक्षणको क्रममा निर्देशिका पालना नभएको पाइए कारबाही गरिने छ’ भन्नुभएको छ । यस पत्रअनुसार नगरप्रमुख वडले संघीय र प्रदेश सरकारको सहकार्य बिना नै अस्पताललाई स्वीकृति दिएको देखिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को काम, कर्तव्य र अधिकारको बँुदाको उपदफा ३ मा ‘गाउँपालिका तथा नगरपालिकाले संघ तथा प्रदेशसंगको सहकार्यमा जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन गर्न पाउने’ उल्लेख गरेको छ ।

सो पत्र स्वास्थ्य सेवा विभाग व्यवस्थापन कार्यालय काठमाडौं, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश धनगढी र प्रदेश स्वास्थ्य निर्देशनालयल दिपायलमा बोधार्थका रुपमा पठाइएको छ । सारथीले १५ सैयाको अस्पताल सञ्चालन स्वीकृति पाउँ भनेर उपमहानगरपालिकाको स्वास्थ्य शाखामा निवेदन दिएको थियो ।

संविधानअनुसार स्थानीय तहले नीजि अस्पताललाई सञ्चालन अनुमति दिन पाउने अधिकार प्रदान गरेको भएपनि त्यसका लागि आवश्यक निर्देशिका, कार्यविधी बनाउनुपर्ने हुन्छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को सोही दफा ११ को उपदफा (७) मा गाउँपालिका वा नगरपालिकाले काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आवश्यकता अनुसार कानुन, नीति, योजना, मापदण्ड तथा कार्यबिधी बनाई लागु गर्न सक्ने उल्लेख छ ।

कानुन नबन्दा अस्पताल सञ्चालन अनुमति मात्र नभई नविकरणको कामसमेत हुन नसकेको अवस्थामा नगरप्रमुख वडले एकल निर्णयमा अस्पताललाई स्वीकृति दिनुभएको हो । अहिले संघलेनै कानुन, कार्यविधि निर्माण नगर्दा स्थानीय तह र प्रदेश सरकार पनि अस्पताल सञ्चालन अनुमति कसले दिने भन्ने विषयमा अन्यौलतामा रहेका छन् ।

सारथी अस्पताललाई सञ्चालन अनुमति नदिने पक्षमा धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखासहित प्रदेश सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय पनि रहेको थियो । न्यूनतम मापढण्ड पनि नभएकाले उपमहानगरपालिकाको स्वास्थ्य शाखा अस्पताललाई सञ्चालन अनुमति दिने पक्षमा थिएन ।

अस्पताललाई स्वीकृति दिने विषयमा पनि नगरप्रमुख वडले स्वास्थ्य शाखासंग पनि समन्वय नगरेको पाइएको छ । उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक डाक्टर खगेन्द्र बमले अहिले नीजि अस्पताललाई सञ्चालन अनुमति दिन कानुन, नीति, कार्यविधी र मापढण्ड बन्नुपर्ने बताउनुहुन्छ । उहाँले अहिले कार्यविधी, मापढण्ड नबन्दा अनुगमन समिति पनि गठन नगरिएको बताउनुभयो ।

यस विषयमा नगर प्रमुख वडले सारथी अस्पतालले सुदूरपश्चिममै पहिलो पटक मुटु तथा मृर्गौलाको उपचार सेवा प्रदान गर्न लागेको हुँदा सञ्चालन स्वीकृति दिएको बताउनुभयो । उहाँले यसअघिको कानुनकै आधारमा आफूले अस्पताललाई स्वीकृति दिएको दाबीसमेत गर्नुभयो ।

बैधानिक रुपमा सञ्चालन अनुमति पाउन नसकेको अस्पतालको कुनै आधारमा मापदण्ड पुग्न सकेको छैन । अस्पताल सञ्चालनका लागि पहिले भूकम्प प्रतिरोधात्मक भवन हुनुपर्ने व्यवस्था छ । यदि भूकम्प प्रतिरोधात्मक भवन छैन भने अस्पताल सञ्चालनका लागि अनुमति दिन नसक्ने व्यवस्था छ ।

नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढीको वषौं पूरानो कमजोर गोदाममा सारथी अस्पताल राखिएको छ । अस्पतालले पूर्ण रुपमा उपकरणहरु पनि भित्र्याउन नसकेको जनाइएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले कुनैपनि अस्पताल सञ्चालन गर्दा आफ्नै जग्गा हुनुपर्ने नभए १० वर्षसम्म भाडा सम्झौता हुनुपर्ने हुन्छ । तर, खाद्यको सो गोदाम सारथीले दुई वर्षको सम्झौतामा लिएको छ । साथै उहाँकाअनुसार सरकारी अस्पताल नजिकै कुनै अर्को अस्पताल राख्न पनि पाइँदैन । तर, सारथी सेती अञ्चल अस्पतालसंगै जोडिएको छ ।

निर्देशनालय पनि पन्छियो, विवरण मागेर चुपचाप

सारथी अस्पताल मापदण्डविपरित सञ्चालन भएको खबर बाहिरिएपछि आवश्यक कागजात मागेको प्रदेश स्वास्थ्य निर्देशनालय अहिले भने चुप बसेको छ ।

अस्पतालले अनुमति लिएको वा नलिएको बारेमा कागजात मागेको प्रदेश स्वास्थ्य निर्देशनालय बाँकी प्रक्रिया अगाडि बढाउन अन्याैलता भएकाे जनाएकाे छ । निर्देशनालयले अस्पतालसंग कागजात मागेपनि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सकेन ।

कानुनमा स्पष्ट व्याख्या नहुँदा बाँकी प्रक्रिया कसरी अघि बढाउने भन्ने अन्यौलता रहेको प्रदेश स्वास्थ्या निर्देशक अवस्थीले बताउनुभयो । उहाँले नियम विपरित भए सम्बन्धीत स्थानीय तहले कारबाही अघि बढाउनुपर्ने व्यवस्था रहेको बताउनुभयो ।

तर, कारबाही गर्ने निकाय धनगढी उपमहागनरपालिकाले नै सञ्चालनका लागि अनुमति दिएको अवस्था छ । डाक्टर अवस्थीले भने सारथी अस्पताल कुनैपनि आधारमा मापदण्डअनुसार नबेनको बताउनुभयो ।

प्रकाशित मिति: १० बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्