पिम्पलको उपचार, जीवनशैलीमा सुधार


 


‘पहिला थोरै आएको थियो, पछि बढ्दै गयो,’ हेटौंडाकी आश्मा घिमिरले भनिन्, ‘पिम्पलले अनुहार नै बिगारेको थियो। अहिले अलि राम्रो भएको छ।’

अनुहारमा पिम्पल (डन्डीफोर) आउनेबित्तिकै निचोर्दा झन् बढ्दै गएको उनले अनुभव सुनाइन्। घरेलु सामग्रीबाटै पिम्पलको उपचार गर्न सकिने र यो बिस्तारै कम भएको उनी बताउँछिन्। ‘मकै र बेसनको पिठोले मुख धुन्छु। समयमै सुत्छु। यसकारण, पिम्पल कम भएको हो,’ घिमिरे भन्छिन्।

काठमाडौं नैकापका सुन्दर तामाङ पिम्पलको उपचार गर्दा–गर्दा हैरान भएका छन्। धेरै ठाउँमा देखाउँदा पनि कम नभएको उनी सुनाउँछन्।

त्यस्तै काठमाडौं जोरपाटीकी उर्मिला प्रधान पिम्पलकै समस्याबाट ग्रस्त थिइन्। ‘पिम्पलले गर्दा बाहिर कतै निस्कन मन लाग्दैनथ्योे,’ उनले भनिन्, ‘मेडिकलका धेरै औषधि प्रयोग गर्दा पनि कम भएन। केही समय कम भएजस्तो देखिन्थ्यो। पछि फेरि बल्झिन्थ्यो।’ सामान्य घरेलु सामग्री नियमित प्रयोग गर्न थालेपछि पिम्पल कम भएको उनी बताउँछिन्।

उमेर बढेसँगै सुन्दर देखिन चाहने धेरै हुन्छन्। सौन्दर्यमा ध्यान दिँदादिँदै युवायुवती पिम्पलबाट सताइएका हुन्छन्। यसले युवायुवतीलाई हैरान पनि पार्छ । कोहीकोही सुन्दर हुन मेकअपका सामान प्रयोग गर्दा पिम्पलको सिकार भएका छन्। पिम्पल अनुहारमा मात्र नभई शरीरका अन्य भागमा पनि आउन सक्छ।

पिम्पलका कारण
हर्मन गडबडीका कारण महिला र पुरुष दुवैमा पिम्पल आउने चिकित्सकहरू बताउँछन्। नेपाल स्किन अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ ललन खतिवडाका अनुसार मानव शरीरमा चिल्लो निकाल्ने ग्रन्थीहरूको विकास भएसँगै यसको एक्टिभेसन पनि बढ्दै गएपछि शरीरमा चिल्लोपन निस्कन थाल्छ। जसमा ब्याक्टेरिया जोडिएर जम्मा हुन थाल्छ र यो पिम्पलका रूपमा देखा पर्छ।

‘अव्यवस्थित जीवनशैली र खानपिनको कारण पिम्पल आउँछ,’ डा. खतिवडाले भने, ‘राति ढिलासम्म नसुत्ने, कपाल तथा अनुहारमा तेल लगाउँदा, पत्रुखाना खाँदा, दूधजन्य पदार्थमा आइसक्रिम खाने, व्यायाम नगर्ने व्यक्तिमा पिम्पलको समस्या भएको पाइएको छ।’

कस्मेटिक प्रडक्टको साइड इफेक्टले पनि पिम्पल देखिन सक्छ। यसलाई कस्मेटिक इन्ड्युस एकेन भनिन्छ। त्यसमा भएको केमिकलले पनि स्किनमा असर गर्छ। सबैभन्दा पहिले प्रयोगकर्ताले आफ्नो स्किनबारे बुझेर स्किन सुहाउँदो कस्मेटिक प्रडक्ट प्रयोग गर्न उनको सुझाव छ।

प्रायः अनुहारमै पिम्पल आउँछ। टाउको, घाँटी, छाती, ढाडलगायत अरू ठाउँमा पनि पिम्पल आउन सक्छ। पुरुषको तुलनामा महिलामा पिम्पलको समस्या बढी देखिन्छ। यसको कारण महिलाहरूमा अहिले पिसिओएस (पोलिसिस्टक ओभरिज स्निड्रोम) देखिएको चिकित्सकहरू बताउँछन्। महिनावारी गडबडी हुँदा पिम्पलको समस्या बढी देखिएको छ।
चिल्लो निकाल्ने ग्रन्थी सक्रिय हुँदा शरीरमा धेरै पिम्पल देखिन्छ। प्रायः मानिसको छाला जाडोमा सुक्खा र गर्मीमा वोइली हुन्छ। पिम्पल वोइली स्किनमा बढी देखिन्छ। तर, सुक्खा स्किनमा नदेखिने भने होइन। तर, वोइलीको तुलनामा कम देखिन्छ। पिम्पलको समस्या लिएर दैनिक २० देखि ३० जना आउने गरेको डा. खतिवडाले बताए। उनी पिम्पल निको पार्न अव्यवस्थित जीवनशैली सुधार्ने र खानपिनमा ध्यान दिन सुझाउँछन्।

बजारमा आएको नयाँ सौन्दर्य सामग्री प्रयोग गर्ने बानीले पनि अनुहारमा पिम्पल आउँछ। यससँगै आफ्नो स्किन सुहाउँदो प्रडक्टभन्दा पनि विज्ञापन हेरेर सौन्दर्य सामग्री प्रयोग गर्दा पिम्पल देखा पर्छ। त्यस्तै, अनुहारामा पिम्पल आएपछि आत्तिएर धेरै ठाउँमा भौँतारिँदा धेरैले सल्लाह सुझाव दिन्छन्। धेरैको सल्लाह सुझावअनुसार पिम्पलको उपचार गर्दा अनुहारमा झन् धेरै पिम्पल आउन सक्ने सौन्दर्यविद्हरू बताउँछन्।

उपचार
सौन्दर्यविद्ले पिम्पलका लागि घरेलु उपचार नै उत्तम हुने बताउँदै आएका छन्। बजारमा उपलब्ध केमिकलयुक्त औषधिभन्दा पनि हाम्रै भान्सामा भएका सामग्रीले पिम्पलको उपचार प्रभावकारी हुने सौन्दर्यविद् छबु कार्की बताउँछिन्। उनका अनुसार केमिकल भएका औषधिले क्षणिक रूपमा मात्रै पिम्पल निको हुन्छ, फेरि केही समयपछि पिम्पल बल्झिन्छ।
कार्कीका अनुसार निम्न उपायद्वारा पिम्पलको उपचार गर्न सकिन्छ :

बाफ लिने
पिम्पल हटाउन बाफ लिनु सबैभन्दा उत्तम मानिन्छ। बाफले अनुहारमा भएका फोहोर सफा गर्छ। सुन्दरताका लागि फेसियल गर्ने गरिन्छ। फेसियल गरेपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। यसले छाला मर्ने समस्या पनि हटाउँछ। बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्नुपर्छ। सिधै हातले पुछ्दा पिम्पल झन् बढ्न सक्छ ।

गोलभेंडा
गोलभेंडामा पाइने तत्व छालाका लागि धेरै लाभदायक हुन्छ। गोलभेंडाले छालालाई चम्किलो बनाउँछ। गोलभेंडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाएर आधा घण्टासम्म राख्नुपर्छ। त्यसपछि चिसो पानीले पखाल्नुपर्छ।

चन्दन पाउडर
पिम्पल हटाउने अर्को घरेलु उपाय भनेको चन्दन पाउडर हो। बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाएर बनाएको पेस्ट पिम्पल भएको भागमा बिस्तारै दल्नुपर्छ। कसैलाई कागतीले पोल्न सक्छ। पेस्ट लगाउँदा पोलेमा दहीको मात्रा बढाउनुपर्छ। पेस्ट सुकेपछि चिसो पानीले पखाल्नुपर्छ।

कागतीको रस
पिम्पलका लागि कागतीको रस एकदमै प्रभावकारी मानिन्छ। यसले पिम्पल हटाउने र छाला चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सिधै अनुहारमा लगाउँदा पोल्न सक्छ त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।

केरा
केराको फेस प्याक बनाएर लगाएमा पनि पिम्पलबाट छुटकारा पाइन्छ। केराले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पु-याउन मद्दत गर्छ। केराको बोक्रा पनि उत्तिकै लाभदायक हुन्छ। केरालाई मुछेर सिधै अनुहारमा लगाउन पनि सकिन्छ वा महसँग मिसाएर लगाउँदा पनि हुन्छ।

त्यस्तै दहीसँग केरा मिसाएर लगाउनाले पनि पिम्पल हट्छ। पेस्ट सुकेपछि सफा पानीले धोएर अनुहारमा आइसले मसाज गर्नुपर्छ।

मह र दूध
महले अनुहारमा भएका पिम्पल हटाउँछ। पिम्पल भएको भागमा मह दली १५ मिनेटसम्म राखेर सुकेपछि चिसो पानीले धुनुपर्छ। अनुहार चम्किलो बनाउन चाहनेहरूले काँचो दूध अनुहारमा लगाएर सुकेको केही समयपछि चिसो पानीले धुनुपर्छ। यसरी पनि पिम्पलको उपचार गरिन्छ।

प्रकाशित मिति: ९ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्