हिमाली जिल्लामा म्याद गुज्रेका खाद्यवस्तुको जगजगी


 


कर्णाली, माघ १८

हरेक साताको दुईपटक घरायसी प्रयोजनका लागि खाद्य सामग्री खरिद गर्न स्थानीय घाटबजारमा पुग्ने बारेकोट गाउँपालिका–५ जाजरकोटकी भावना शाहीले गएको बुधबार आधा लिटरका दुई पोका सोयाबिन तेल खरिद गर्नुभयो । स्थानीय पसलबाट शाहीले खरिद तेलको म्याद २०१९ अप्रिल २८ अर्थात् २०७६ साल वैशाख १५ गते नै सकिएको थियो । एक पोका तेल प्रयोग गरेपछि थाहापाएकी उहाँले कुनै प्रतिक्रिया नदिएरै सबै प्रयोग गर्नुभयो ।

हुम्लाको सर्केघाड गाउँपालिका–१ तुम्चका दानबहादुर मल्लले स्थानीय बटेलबाडामा भएका पसलबाट गएको शनिबार आफ्ना छोराछोरीका लागि छवटा बट्टा भएको एक प्याकेट फ्रुटी किनेर लग्नुभयोे । घर जाने बित्तिकै छोराछोरीलाई खान दिनुभयो । फ्रुटी खानेबित्तिकै उहाँको छोराले बान्ता गरेलगत्तै त्यसको सोधीखोजी गर्दा बच्चाले खाएको फ्रुटीको म्याद २०१९ मार्च २९ अर्थात् २०७५ साल चैत १५ गते नै म्याद सकिएको पत्ता लाग्यो ।

जाजरकोटकी भावना र हुम्लाका कालाखुरी स्थानीय पसलबाट लामो समयअघि म्याद नाघेका खाद्य सामग्री प्रयोग गर्ने निरीह उपभोक्ताका उदारहणमात्र हुन् । कर्णाली प्रदेशका अधिकांश क्षेत्रमा म्याद गुज्रेका र अखाद्य वस्तुहरू बेच्ने क्रमलाई सरकार र सम्बन्धित निकायले रोक्नेतर्फ कुनै पहल नचाल्दा प्रदेशका उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड भइरहेको छ ।

लामो समयअघि म्याद नाघेका वा प्रयोग गर्न नमिल्ने खाद्य वस्तुहरु खुलेआम बिक्री गर्दासमेत जिम्मेवार निकायले खाद्य ऐन, २०२३ अनुसार कारवाही गर्न नसक्दा नेपालको संविधानमा उल्लेख भएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुत्तासम्बन्धी ऐन, ०७५ ले व्यवस्था गरेको अधिकारबाट समेत यहाँका उपभोक्ता वञ्चित हुनु परेको छ ।

आफूले पसलबाट खरिद गरेको खाद्य सामग्रीको म्याद हेर्न नजान्ने, पसलेले पनि सामग्रीको म्यादका बारेमा जानकारी नदिने र नियमनकारी निकायले पनि बजारको अनुगमनलाई नियमित नगरेकाले कर्णालीका नागरिक अखाद्य वस्तुमा परिणत भएका ९म्याद सकिएका० खाद्य सामग्री प्रयोग गरिरहेका छन् । भर्खरै बजारबाट किनेका सामान पनि पुरानो हुन्छ र रु भन्दै उल्टै आश्चर्य मानेकी बारेकोट गाउँपालिका–५ जाजरकोटकी बिमी विकले त्यसबारे आफूलाई केही जानकारी नभएको बताउनुभयो ।

“मलाई त दोकानबाट किनेर ल्याएपछि सबै सामान नयाँ नै हुन्छ होला भन्ने लाग्छ”, उहाँले भन्नुभयो, “पसलको सामानमा पनि औषधि जस्तो म्याद हुन्छ भन्ने कुरा अहिलेसम्म थाहा थिएन ।” आफूलाई अङ्ग्रेजीमा लेखेको म्याद हेर्न नआउने भएकाले पनि लेखिएको मिति सजिलै थाहा नपाएको उल्लेख गरेका सर्केघाड–१ हुम्लाका मल्लले सामान्य साक्षरमात्र भएकाले आफूले अङ्ग्रेजीमा लेखिएको मिति हेर्न नसक्ने बताउनुभयो । नजीकबाट हेरेमा बिस्तारै अक्षर चिन्न सक्छु उहाँले भन्नुभयो, “मिति नेपालीबाट लेखेको भए हेर्न सजिलो हुने थियो । अङ्ग्रेजीमा लेखिएको हुनाले गाउँकालाई थाहा पाउन समस्या छ ।”

गाउँमा यातायातको सहज पहुँच नहुँदा घोडा, खच्चडमा बोकाएर लिएको सामानको मिति नै मेटिएको अवस्थामा पुग्ने गरेको बताएका पञ्च भयार मावि जाजरकोटका शिक्षक वीरबहादुर खत्रीका अनुसार गाउँका अधिकांश स्थानीय तहले बजार अनुगमन नगर्दा दैनिक ग्रामीण क्षेत्रका स्थानीयवासी अखाद्य वस्तु उपभोग गर्न बाध्य भएका छन् ।” उहाँले भन्नुभयो, “अनुगमनको जिम्मा पाएको स्थानीय प्रशासनले सदरमुकाम बाहिरका ठाउँमा अनुगमन नगर्ने प्रवृत्तिले व्यापारीहरुलाई म्याद गुजे्रका वस्तुहरु मनलाग्दी बिक्री गर्ने आँट आएको हो ।”

हुम्ला, मुगु, डोल्पा, जुम्लालगायत हिमाली जिल्लाका सदरमुकामका बजारबाहेकका क्षेत्रका पसलको अनुगमन कुनै पनि निकायबाट नहुँदा व्यापारीले आफ्नो नाफाका लागि उपभोक्ताकोे स्वास्थ्यमा गम्भीर प्रकारको समस्या पार्ने खाद्य वस्तु बिक्री वितरण गरिरहेको हुम्लाका अधिकारकर्मी नन्द सिंहले जानकारी दिनुभयो ।

बजार अनुगमनको जिम्मेवार पाएको स्थानीय प्रशासनले बजार अनुगमनलाई सदरमुकाममा मात्रै सीमित पार्ने र गाउँमा स्थानीय तहसँग समन्वय नगरेका कारण पनि कर्णालीका ८० प्रतिशतभन्दा बढी नागरिकहरु म्याद नाघेका खाद्य सामग्री प्रयोग गर्न बाध्य भएको तर्क नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतको छ ।

प्रकाशित मिति: १८ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्