भारतमा हिन्दू नेताको गोली हानी हत्या


 


लखनउ, माघ १९ (एजेन्सी)

भारतमा धार्मिक व्यक्तिको हत्या क्रम फेरि दोहोरिएको छ ।

उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार बिहान अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली हानेर हत्या गरिएको छ ।

प्रदेश अध्यक्ष रणजीत बच्चन आफ्ना भाइसँग आइतबार बिहान ‘मर्निङ्ग वाक’ मा गएका बेला राजधानी लखनउ नजिक हजरतगञ्ज इलाकामा उनको गोली हानेर हत्या गरिएको हो ।

घटनामा रणजीतका भाइलाई पनि गोली हानिएको थियो र उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

लखनउका अतिरिक्त प्रहरी आयुक्त नवीन अरोडाका अनुसार ‘आइतबार बिहान ६ बजेको समयमा रणजीत बच्चन आफ्ना भाइसँग मर्निङ्ग वाकमा निस्किएका थिए । हजरतगञ्ज इलाकाको सीडीआरआई नजिक केही बदमास समूहले उनको टाउकोमा गोली हानेर हत्या गरे ।’

रणजीत बच्चनको हत्या भएको क्षेत्र लखनउको निकै महत्वपूर्ण इलाका हो । यो क्षेत्रमा विधान सभा, सचिवालय र सबै सरकारी भवनको अलावा प्रमुख अधिकारी र मन्त्रिको आवास क्षेत्र हो ।

को हुन् रणजीत बच्चन ?

अतिरिक्त सीपी नवीन अरोडाका अनुसार सन् २००२ र २००९ मा समाजवादी पार्टीको तर्फबाट निकालिएको साइकल यात्रामा रणजीतले महत्वपूर्ण भूमिका निभाएका थिए । उनलाई पार्टीले सम्मान पनि गरेको थियो ।

नवीन अरोडाका अनुसार रणजीत बच्चनले विश्व हिन्दू महासभा नामको एक सङ्गठन बनाएका थिए र उनी त्यसको राष्ट्रिय अध्यक्ष बने ।

गएको वर्ष १८ अक्टोबरमा हिन्दू समाज पार्टीका राष्ट्रिय अध्यक्ष कमलेश तिवारीको पनि केही व्यक्तिले उनकै घरमा पसेर हत्या गरेका थिए ।
समाजवादी पार्टीले घटनाको निन्दा गर्दै योगी सरकारप्रति आपत्ति जनाएको छ ।

प्रकाशित मिति: १९ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्