कर्णालीमा खाद्यान्न संकट, ६ जिल्लामा तीन महिना पनि खान पुग्दैन


 



दैलेख, माघ २५
कर्णाली प्रदेशका विभिन्न ६ जिल्लामा खाद्यन्न संकट भएको छ । प्रदेशका १० जिल्लामध्ये ६ जिल्लामा स्थानीय उत्पादनले तीन महिना पनि खान पुग्दैन । जसले गर्दा यहाँ बर्सेनि खाद्य संकटको समस्या हुने गरेको छ ।
जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगु खाद्य असुरक्षाको जिल्लामा पर्छ । उक्त प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुर्खेत, रुकुम, सल्यान र दैलेख खाद्य सुरक्षाको जिल्लामा परेका छन् ।

कर्णालीमा बर्सेनि २५ हजार मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको मन्त्रालयले जनाएको छ । प्रदेशमा ३ लाख ५२ हजार मेट्रिकटन खाद्यान्न आवश्यक पर्नेमा ३ लाख २६ हजार ५ सय मेट्रिकटन खाद्यान्न मात्र उत्पादन हुने गरेको छ ।

रुकुमले जिल्लाको आश्यकता परिपूर्ति गरेर वार्षिक ४ हजार १ सय मेट्रिकटन खाद्यान्न सञ्चित गर्दै आएको छ । सबैभन्दा बढी खाद्यान्न सञ्चित सल्यानले गर्दै आएको छ । सल्यानले १३ हजार ९ सय ९६ मेट्रिकटन खाद्यान्न सञ्चित गर्दै आएको छ ।

त्यस्तै, सुर्खेतले उत्पादन गरेको ७८ हजार ७ सय ३४ मेट्रिकटनमध्ये ७७ हजार ६ सय ६० आन्तरिक आवश्यकता पूरा गरेर १ हजार ७४ मेट्रिकटन सञ्चित गर्दै आएको छ । सरकारी तथ्यांकअनुसार कालिकोटमा वार्षिक २९ हजार ७ सय ३९ मेट्रिकटन खाद्यान्न आवश्यक पर्छ । तर, यहाँ वार्षिक १७ हजार ९ सय ६४ मेट्रिकटन खाद्यान्न अपुग हुन्छ ।

यस्तै, जाजरकोटमा २ हजार ९७, डोल्पामा २ हजार ७ सय ८७, जुम्लामा ७ हजार ३०, हुम्लामा ८ हजार २ सय ७३ र मुगुमा ५ हजार ४ सय ४४ मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको उक्त मन्त्रालयका सचिव राजेन्द्र भारीले बताए । दैलेखमा खाद्यान्न आवश्यकता र उपलब्धता समान हुने गरेको छ ।

बाँकी जिल्लामा भने स्थानीय उत्पादनले वर्षभरि खान पुग्दैन । प्रदेशमा उत्पादन भएको अन्नले नधान्ने भएपछि कर्णालीमा बर्सेनि बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

खेतीयोग्य जमिन खण्डीकरण हुनु र जमिन बाँझै राख्नाका साथै सिँचाइको अभाव र उन्नत जातको बीउ अभावका कारण कर्णालीले बर्सेनि खाद्य संकटको समस्या झेल्नुपरेको हो । त्यसैगरी हिमाली जिल्लामा फलफूल र तथा जडीबुटी मात्र उत्पादन हुने भएकाले पनि यी जिल्लामा बर्सेनि बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: २५ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्