अध्यक्ष अर्यालद्वारा पदभारग्रहण, न्यूनतम पारिश्रमिक लागु गराउने प्रतिबद्धता



काठमाडौं, फागुन २१

न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्यालले सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउन पहल गरिने बताउनुभएको छ ।

आज पदभार ग्रहण गर्दै उहाँले सरकार, नेपाल पत्रकार महासङ्घ, सञ्चारमाध्यम र पत्रकारसँगको समन्वयमा सरकारले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराउने बताउनुभयो । उहाँले अहिलेको महङ्गीले पनि पत्रकारको नयाँ तलबमान पुनरावलोकन आवश्यक रहेको धारणा राख्नुभयो ।

समिति गठन भएको २५ वर्ष पुग्दा पनि पत्रकारको पेशागत र भौतिक अवस्थामा सुनिश्चित नभएको भन्दै उहाँले सञ्चारमाध्यमले पनि न्यूनतम पारिश्रमिक लागू गरेर मर्यादित पत्रकारिता बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्माले पत्रकारको पेशागत सुरक्षा गर्न सरकार सधैँ तयार रहेको बताउनुभयो । उहाँले अन्य देशमा रहेको पत्रकारको तलब जति नै नेपालमा गराउनुपर्ने बताउनुभयो ।

पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको पेशागत र भौतिक सुरक्षाका लागि महासङ्घ लागि परेको भन्दै सरकारले नयाँ तोकेको तलबमान लागु गराउनुपर्ने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकार ऐन संशोधन गरेर समितिलाई अनुगमन र कारवाहीको अधिकार प्रत्याभूत गराउनुपर्ने बताउनुभयो ।

नवनियुक्त अध्यक्ष अर्याललाई समितिका सदस्य केपी गौतमले स्वागत गर्नुभएको थियो । सदस्य गौतमले वर्तमान सरकारले तोकेको पारिश्रमिक लागू गराउनुपर्ने बताउनुभयो । सो अवसरमा नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य टङ्क पन्त, पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्टले बधाई दिनुभएको थियो । विगत २० वर्षदेखि क्रियाशील अर्याल तत्कालीन प्रेस चौतारी नेपालका अध्यक्ष हुनुहुन्थ्यो । यहि फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News