छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु


 



भारत । छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ जना मजदुरको मृत्यु भएको छ ।

पिकअप ट्रकमा तेन्दुपात सङ्कलन गरेर फर्किएका करिब २५ जना मजदुर खाल्डोमा खसेका थिए । उक्त घटनामा १४ महिला र एक पुरुषसहित १५ जनाको ज्यान गएको थियो । घाइते आठ जनालाई उपचारका लागि अस्पताल लगिएको कावर्धाका एसपी अभिषेक पल्लभले बताउनुभयो ।

घटनापछि छत्तीसगढका उपमुख्यमन्त्री विजय शर्माले शोक व्यक्त गर्दै पीडित र उनीहरूका परिवारलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिनुभयो । 

उहाँले सामाजिक सञ्जाल एक्समा “कावर्धामा कामदार सवार पिकअप गाडी पल्टिँदा १५ जनाको मृत्यु भएको खबर अत्यन्तै दुःखदायी छ । यस दुर्घटनामा परी आफन्त गुमाएका सम्पूर्ण परिवारजनमा मेरो समवेदना छ ।” उहाँले सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राज्य सरकारको निगरानीमा स्थानीय प्रशासन पीडित र उनीहरूका परिवारलाई हरसम्भव सहयोग उपलब्ध गराउन लागिरहेको उल्लेख गर्नुभयो ।

छत्तीसगढ कांग्रेस अध्यक्ष दीपक बैजले सामाजिक सञ्जालमार्फत छत्तीसगढ सरकारसँग पीडित परिवारलाई ढिलाइ नगरी क्षतिपूर्ति दिन माग गर्नुभयो ।

प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्