चितवनमा कारागारभित्र क्वारेन्टाइन स्थापना, भेटघाट बन्द


 


चितवन, चैत्र २३
चितवनमा कारागार भित्रै १५ श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन कैदी बन्दीका आफन्तलाई भेटघाट समेत बन्द गरिएको छ ।

नवलपुर जिल्लाका कैदी बन्दीलाई चितवन कारागार ल्याइएपछि त्यहाँका कैदी बन्दी त्रासमा परेका छन् । नवलपुरमा हालसम्म कारागार रहेको छैन ।कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कोरोना भाइरस जोखिम हुन नदिन लकडाउन गरिएपछि नवलपुर जिल्ला अदालतबाट आदेश भइ ११ जना कैदी बन्दी त्यहाँ आएका छन् ।

२ सय ५५ जना क्षमता भएको त्यहाँको पुरुष बन्दी गृहमा ६ सय ६८ र २५ जनाको क्षमता रहेको महिला गृहमा ३ आश्रित बालिकासहित ५८ जना रहेका छन् । साँघुरो ठाउँमा बाहिरबाट आउनेले रोग ल्याएमा सबै सङ्क्रमित हुने भएकाले सबै त्रासमा परेका हुन् ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: २३ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्