होलीः मेरो मानसिक पीडा


 


pradip-nepal
प्रदीप नेपाल

उहिलेको होली, हामी गाउँले केटाकेटीका लागि फागु थियो । होली त धेरै पछि भारतबाट नेपाल प्रवेश गरेको हो अङ्गीकृत नागरिक भएर । पहिले होली एकै दिन खेल्थे नेपालभरि । फागुलाई वैदिक साहित्यका ज्ञाता, ठूला विद्धान मदनमणि दीक्षितले वसन्त उत्सव मान्नु भएको छ । तर फागुलाई मैले जानेदेखि उत्सव मान्न सकिन ।
केटाकेटीमा सबै चकचके हुन्छन् । म पनि थिएँ । तर म एक नम्बरको चकचके चाहिँ थिइन ।
उहिले, अर्थात जुनबेलाको दुर्घटनाको सम्झनाले म सधैँ पीडित भैरहन्छु, त्यतिबेलाको होली, फागु नै थियो । त्यसैले त्यो अहिलेको जस्तो फोहोर पानीको खेल थिएन । पाँच सात वर्ष पहिले काठमाण्डौ शहरमै बाटामा हिँड्दै गरेको बेला माथिबाट हानिएको लोला आपूmले लाएको कोटमा फुटेपछि त्यहाँबाट गुहुगन्धे झोल बगेको थियो र म फनक्क फर्किएर कोठभित्र छिरेको थिएँ । पछि ड्राइक्लीन नै गर्नु परेको थियो मेरो कोटको ।
यस्तै दुर्घटनालाई बलात् होली खेलेको मान्ने हो भने होली खेलियो भनौँला । आफ्नो खुशीले होली नखेलेको चाहिँ साठी वर्ष भन्दा बढी भैसकेछ । उतिबेलै मैले मनमनै अठोट गरेको थिएँ – जीवनपर्यन्त म फागु खेल्ने छैन भनेर ।
धेरै पुरानो घाउ हो यो । छ दशक भन्दा पुरानो । त्यतिबेला आफ्नो उमेर यस्तै आठ नौ वर्षको थियो होला । मेरो बालापन बितेको भोजपुर जिल्लाको सदरमुकाममै पर्ने पोखरेको सरस्वती मिडिल स्कूलका विद्यार्थी थियौँ हामी । अहिले मसँग सँगै मेरा त्यतिबेलाका दौँतरीहरु पनि प्रौढतातिर उकालो लागेका होलान् । साह्रै पुरानो घटनालाई सबैले बिर्सिएका पनि होलान् । तर मैले आँखाले मात्रै होइन मनले समेत देखेको त्यो दृष्यलाई अरु बेला बिर्सिए पनि होली शब्द सुन्ने बित्तिकै सिनेमाको तस्वीर जसरी आँखामा नाच्न थालिहाल्छ ।
मैले माथि नै भनेको छु केटाकेटीमा सबै चकचके हुन्छन् । हाम्रो समूहमा मुरारी सबैभन्दा बढी छुकछुके थियो र बाल्यकालीन दादागिरीमा पनि उ हामी भन्दा जेठै थियो । अहिले उ पनि मजस्तै बुढौतीतिर उकालो लागेको छ र बुढौतीले उसमा सज्जनता थपेको पनि छ । तर केटाकेटीमा उल्कापातै थियो त्यो मान्छे । कुट्नु प¥यो भने कसैलाई बाँकि नराख्ने ! चिर्पटै बोकेर दौडिहाल्ने ।
अठार या उन्नाइस सालको फागु हुनुपर्छ त्यो । त्यो सालको फागु शनिबारको दिनमा परेको थियो । उतिबेला भोजपुर बजारमा शनिबार हाट लाग्थ्यो । बजारको हाट ठूलै हुन्थ्यो । मानिसहरु झण्डै चार पाँच घण्टै हिँडेर हाट भर्न आउँथे । हाम्रो चकचके मस्तिष्कले तिनै हटारुलाई पिच्कारीले रङ्गाउने निर्णय ग¥यो ।
मुरारीको घरको आडैको बाटोबाट दुम्सिका, जिमी गाउँ र कार्की गाउँका हटारुहरु सदरमुकामको हाट भर्न आउँथे । बजारबाट नजिकै भएको हुनाले तिनीहरु बिहानको खानपिन गरेपछि नै बजार आउँथे । हाम्रो बिखेत्याईँका लागि त्यो समय सबैभन्दा अनुकूलको थियो । घरको भात खाएपछि आनन्दले दिनभरि पिच्कारी हान्न पाइने ! बाटाको मास्तिर एउटा लाम्चो बारी थियो । त्यही बारीमा लुकेर पिच्कारी हान्ने कुरामा हाम्रो सहमति पनि भयो ।
भात खाएपछि हामी बारीमा मान्छे ढुकेर बस्यौँ । पूर्वतिरबाट बाटो पश्चिम जान्थ्यो । पूर्वतिरबाट आउने कसैले हामीलाई झ्वाट्ट देख्न सक्दैनथ्यो । हामी भने बीस हात परै मान्छेको टाउको देखिहाल्थ्यौँ । हाम्रा लागि त्यो सबैभन्दा फाइदाको पक्ष थियो ।
युद्ध गर्न तम्तयार सिपाहीँ जस्तो हालत थियो हाम्रो । हरियो बाँसको पिचकारीमा रङ भरेर हामी भुइँमा कुइनो टेकाएर गोली हान्न तयार भएर पस्रिएका थियौँ ।
एकाध जनालाई हानियो पनि होला । दुर्घटनाबिहिन कतिपय दृष्यहरु मानसपटलमा बस्न पनि चाहेनन् ।
दुई तीन जनाको समूहलाई मुरारीले मज्जैले पिच्कारी हान्यो । पिचकारी त हान्यो, तर पिचकारीबाट निस्किएको हरियो रङको पानीसँगै उसको अनुहार पनि सातो उडेको बालकको जस्तो भयो । उसको पिचकारीले सेतो कमेज सुरुवाल र सेतै टोपी लाएको मानिसलाई टोपीदेखि पैँतालासम्म रेखो हालिदिएको थियो । बरखी बारेको त्यो मानिस गालामा थप्पड लागे जसरी रन्थनियो ।
बरखी बारेको मान्छेलाई आजभोलिको कथित आधुनिक जमानामा त रङ छ्याप्नु असभ्यताको परिचय हुन्छ भने आधा शताब्दी अघि त्यसरी रङ हान्नु कस्तो ठूलो अपराध हुन्थ्यो होला !
त्यो मान्छेका पाइला ठप्प रोकिए । उसले ठिङ्ग उभिएर हामीतिर हे¥यो । उसका आँखाबाट आगाका लप्काहरु निस्किरहेका थिए । उसको स्तब्धता र उसको अनुहार देखेर सायद मुरारिमा पनि आत्मदोषको चिसो पस्यो । उ फनक्क फर्किएर भाग्यो ।
हामीले कुनै गल्ती गरेका थिएनौँ । त्यसैले बाँकी रहेका हामी भागेनौँ । त्यो मानिसले पनि हामीतिर आँखा डुलाएन । बारीको कान्ला नाध्दै भागिरहेको मुरारीतिरै उसका आँखा तन्किए । उ मुरारीको पछि पछि कुदन थाल्यो ।
मुरारी हामी सबैभन्दा बलियो थियो । त्यसैले उ सुरो पनि थियो । बरखी बारेको मान्छेको खेदाईले उसलाई भेट्टाउने कुरै थिएन । हिउँदको बारी खालि थियो । दौडमा मुरारी झन झन अघि बढ्दै गयो । पर पर हुँदै गएको मुरारीलाई एकछिन उभिएर हेरेपछि उ फनक्क फर्कियो । हामी उभिएको बारीमा आएपछि उ फेरि ठिङ्ग उभियो र हामीतिर हेर्न थाल्यो । उसको अनुहार निराश थियो । शायद आत्मग्लानीले उ बेस्सरी पिरिएको थियो ।
एक्कासी उ रुन थाल्यो । त्यति ठूलो मान्छे रोएको मैले त्यो दिनसम्म देखेको थिइन । उसको करुण क्रन्दनले मुरारीले हानेको रङमा मेरो पनि हिस्सा छ कि भन्ने लाग्यो । मैले आफ्नो हातको पिचकारी झटारो हानेर डीलमुनि फालिदिएँ । मैले पिचकारी फ्यालेको देखेपछि मेरा दौँतरीहरुले पनि हातको पिचकारी टाढा टाढा पुगोस् भन्ने भावका साथ झटारो हानेर फ्याँकिदिए ।
अर्थात गल्तिबोध मुरारी मात्र होइन, हामीले पनि गरेका थियौँ । आधा शताब्दीको पुरातनपन्थी समाजमा बरखी बारेको मान्छे कत्ति खुम्चिएर बस्नु पथ्र्यो भन्ने पीडा एक्काइसौँ शताब्दीका युवाहरुले कल्पना पनि गर्न नसक्ने विषय हो । हामीले वैधब्य र बरखी बार्नुको साँघुरोपन देखेका थियौँ, भोगेका थियौँ । त्यसै हुनाले त्यो दिन हामी फेरि फागुको रङमा रङिन सकेनौँ ।
मध्यान्ह नलाग्दै हामी सबै फुच्चेहरु फागु खेल्न छोडेर घरतिर लाग्यौँ । दिउँसो तीन बजेतिर हिटीधारामा नुवाइधुवाइ गरेर हामीले त्यो सालको फागुको मैझारो ग¥यौँ ।
आमा भोलिपल्टको बिहानै पानी लिन धारामा जानुभएको थियो । आपूmले बोकेर ल्याएको पानी गग्रेटोमा राखेपछि मझेरीको ओछ्यानमा बसिरहेको मतिर हेर्दै आमाले सोध्नुभयो, “नानी, तैँले हिजो बरखी बारेको मानिसलाई पिचकारी हानिस् ?”
“मैले होइन, मुरारीले हानेको थियो ।”
“तँ पनि त्यहीँ थिइस् अरे,” धारामा सायद कसैले हिजोको हाम्रो उपध्रोको कथा आमालाई सुनाएको थियो होला ।
“बरखी बारेको मानिसलाई रङ हान्नु हुँदैन भन्ने तँलाई थाहा थियो त,” आमाले सम्झाउँदै भन्नुभयो, “त्यसमाथि गरीब दुःखीका छोराछोरीसँग बरखीको लुगा एक जोर मात्रै हुन्छन् भन्ने तँ र तेरा साथीले थाहा पाउनु पर्ने हो ।”
“बाटामा हिँडेका कसैलाई पनि रङ हान्नु हुँदैन नानी,” आमाले मलाई सम्झाउँदै भन्नुभयो, “उसै पनि अर्काको लुगा बिगार्ने यस्तो खेल खेल्नु राम्रो हँुदैन । गाउँका अदनाहरुसँग तिमीहरुको जस्तो दुई तीन जोर लुगा हुँदैन । तिमेरले लुगा बिगारिदिएपछि तिनीहरु कसरी बजार जान सक्छन् ! …
आमाले सम्झाउनु मात्रै भयो । आमाले दुई थप्पड हानेको भए मेरो मनको ग्लानी मरेर जान्थ्यो होला । आमा जति बोल्नुहुन्थ्यो, त्यति ग्लानीको पहाडले म थिचिन्थेँ । अन्तमा आमाले भन्नुभयो, “अबदेखि यस्तो बिखेती खेल नखेल् है छोरा !”
त्यसयता मैले होली खेलेको छैन । कसैले गालामा रङ दलिदिई हाल्यो भने म हतार हतार त्यसलाई पुछेर अथवा धोएर फालिहाल्छु । होलि शब्दसँगै मेरो मानसमा आफ्नो बालापनको गल्ती, सेता लुगा लाउने २५ वर्ष जतिका ती दाइको क्वाँ क्वाँ गरेर रोएको अनुहार र मेरी आमाको शिक्षा सँगसँगै आउने गर्छन् ।
फागुन २०७०
काठमाण्डौ

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्