कथाकार विमल र रङ्गकर्मी शर्मालाई पुरस्कृत गरिने


 


काठमाडौँ, चैत १९ । रामगीता वाङ्मय मन्दिर नेपाल–अमेरिकाले दुई स्रष्टालाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

वाङ्मय मन्दिर स्थापनाको पहिलो वर्षको अवसरमा २०८० सालको ‘प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ कथाकार राजेन्द्र विमल र ‘अशेष मल्ल–सावित्री रङ्गकर्म पुरस्कार’ वरिष्ठ रङ्गकर्मी हरिहर शर्मालाई प्रदान गर्ने निर्णय गरिएको हो ।

‘प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ कथाकार विमलको कथासङ्ग्रह ‘सरबरिया टोल’लाई प्रदान गर्ने निर्णय भएको रामगीता वाङ्मय मन्दिरकी अध्यक्ष गीता खत्रीले जानकारी दिनुभयो । विभिन्न स्रष्टाका नौ कृतिमध्ये उत्कृष्ट उक्त कथासङ्ग्रहमा कथाकार विमलले अनेकन द्वन्द्वले विखण्डित तुल्याउँदै लगेको नेपाली समाजलाई जोड्ने र अन्यायमा पारिएका नागरिकसम्म न्यायको उज्यालो पु¥याउन खोज्नुभएको छ ।

उक्त पुरस्कारका लागि विक्रमभक्त जोशीको ‘चोभार ब्लुज’, चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’, मनोज थारुको ‘टुवरा’, इल्या भट्टराईको ‘मिसर’, हरिबोल काफ्लेको ‘यशोधरा’, युवराज नयाँघरेको ‘याकजी’, राजेन्द्र तारकिणीको ‘बिगनरामको मादल’ र अशोक थापाको ‘सन्तापको धून’ मनोनयनमा परेका थिए ।

यसैगरी, २०८० सालको ‘अशेष मल्ल–सावित्री रङ्गकर्म पुरस्कार’ नेपाली रङ्गमञ्च र समग्र नाट्य क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्नुहुने वरिष्ठ रङ्गकर्मी तथा कलाकार शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ । दुवै स्रष्टालाई प्रदान गरिने पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्