राजधानीमा प्रादेशिक कला प्रदर्शनी सुरु


 



काठमाडौँ, १२ चैत । काठमाडौँमा आजदेखि ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सुरु भएको छ ।

प्रदर्शनीको उद्घाटन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस कार्यक्रममार्फत बागमती प्रदेशका कलालाई नजिकबाट चिन्ने अवसर पाएको बताउनुभयो । यो प्रदेशस्तरीय प्रदर्शनीको अन्तिम कायर्यक्रम हो । यसअघि छ प्रदेशमा प्रादेशिक प्रदर्शनी सम्पन्न भइसकेको छ ।

उहाँले बागमती प्रदेश कला, संस्कृतिसँगै भौगोलिकरूपमा पनि विविधतायुक्त भएको बताउँदै यसको संरक्षण तथा प्रवद्र्धनमा यस्ता प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । मन्त्री तामाङले पुराना कलाकारबाट प्रेरणा, नयाँले सिर्जना र यी दुवैको संयोजनबाट देशको अर्थतन्त्रमा योगदान पु¥याउन सहयोग गर्ने जिकिर गर्नुभयो । उहाँले ललितकलाको प्रदेश प्रतिष्ठान स्थापनका लागि आफूले पहल गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको विकास, प्रवद्र्धनमा ललितकलाको ठूलो भूमिका भएको बताउनुभयो । उहाँले छायामा परेका कलालाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रदेशमा तथा पालिकाले प्रतिष्ठानसँगको सहकार्यमा काम गरिरहेको र यसले सकारात्मक परिणाम दिएको धारणा राख्नुभयो ।

प्रतिष्ठानका उपकुलपति एवम् बागमती प्रदेश कला प्रदर्शनी समन्वय समिति संयोजक लालकाजी लामाले प्रदर्शनीमा युवा पुस्ताको सहभागिता उत्साहजनक भएको बताउँदै यसले ललितकलाको क्षेत्रमा नयाँ बाटो कोर्ने धारणा राख्नुभयो ।

नेपाली ललितकला क्षेत्रलाई स्थानीयस्तरबाटै समृद्ध बनाउँदै यसलाई व्यवसायसँग जोड्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हाम्रो आवश्यकता हामीले नै बोल्नुपर्छ भनेर प्रदेशप्रदेशमा कार्यक्रम गरिरहेका छौँ ।”

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले नेपालको संविधान २०७२ अनुरूप रही प्रतिष्ठानले पहिलोपटक सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’ गर्ने सिलसिलामा छ वटा प्रदेशमा प्रदर्शनी सकेर आजदेखि बागमती प्रदेशमा सुरु गरेको बताउनुभयो । उहाँले प्रतिष्ठानले गरेको यो अभ्यासले प्रदेशको मौलिक, रैथाने कलालाई संरक्षण तथा प्रवद्र्धन गर्न थप सहयोग पुगेको बताउनुभयो ।

समारोहमा नेपाली ललितकलाको क्षेत्रमा निरन्तर साधनारत रही ललितकला क्षेत्रको संवद्र्धन एवम् प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएका अग्रज कलाकार बाबुराज द्यःला, गौतमरत्न तुलाधर, चन्दा श्रेष्ठ, मिरा भट्टराई, साईँला लामा ‘मङ्गल’, पूर्णप्रसाद ह्योजू, पुष्पाञ्जली शेरचनलाई सम्मान गरिएको थियो ।

प्रदर्शनीमा समसामयिक चित्रकला÷मूर्तिकला, परम्परागत चित्रकला÷मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलालगायतका विविध विधाअन्तर्गतका २१० कलाकारका २४१ कलाकृति राखिएको छ । प्रदर्शनी चैत १६ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्