ओम्नीले पैसा तिर्नुपर्छ: पर्यटन मन्त्री


 


काठमाडौँ, असार २१
कोरोना भाइरस रोकथाममा सरकारले कम्तीमा ८ अर्ब ३९ करोड खर्च गरिसक्दा पनि पहिलोपटक औषधि चार्टर गर्ने नेपाल वायुसेवा निगमले तीन महिना बितिसक्दा पनि २ करोड १८ लाख रुपैयाँ कार्गो भाडा पाएको छैन ।

लकडाउनको ५ औं दिनमा निगमले ०७६ चैत १५ वाइडबडी विमान चीनको ग्वान्जाउ पठाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा स्वास्थ्य विभागका लागि औषधि लगायतका स्वास्थ्य सामग्री ढुवानी गरिदिएको थियो । विभागका लागि यो कार्गो उडानको जिम्मा ओम्‍नी समूहले लिएको थियो । त्यस्तै निगमले स्वास्थ्य मन्त्रालयबाट ग्वान्जाउको चार्टर भाडाबाहेक, काठमाडौं–नेपालगन्ज–काठमाडौं चार वटा चार्टर उडान बापतको भाडा २४ लाख ४८ हजार पनि पाएको छैन।

‘ग्वाङजाउको चार्टर भाडा १ करोड ९४ लाख र नेपालगन्‍जका लागि भएका चारवटा चार्टर उडानको २४ लाख गरी २ करोड १८ लाख रुपैयाँ तीन महिनादेखि उठाउन दर्जनौंपटक पत्राचार तथा मौखिक ताकेता गर्दा पनि उठाउन सकिएन,’ निगमका एक अधिकारीले कान्तिपुरसँग भने । थुप्रै पटक पर्यटन मन्त्रालयले लेखेको पत्र बोकेर निगमका कर्मचारी स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग धाउँदै आइरहेका छन् । आर्थिक वर्ष सकिन केहि दिन बाँकी रहेको र निगमले विभिन्‍न दायित्वका लागि भुक्तानी दिनुपर्ने भएकाले यो क्रम शुक्रबारसम्म जारी नै देखिन्थ्यो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वास्थ्य मन्त्रालयको टेन्डरमा ढुवानी भएका स्वास्थ्य सामाग्री निगमले चाँडै उठाउने बताएका छन् । ‘हामी पैसा छिटै लिन्छौं । त्यो स्वयमं सेवा होइन । ठेक्दारले पैसा कमाएको छ । हाम्रो एयरलायन्सले किन स्वयमं सेवा गर्ने ?’ शुक्रबार मन्त्रालयमा विविध विषयमा आयाजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले सञ्चारकर्मीलाई भने, ‘हामीले तत्कालीन अवस्थामा केहि प्रक्रियालाई छिटो गरिदिएको हो । ओम्नीले पैसा तिर्नुपर्छ । त्यस्को जिम्मेवारी स्वास्थ्य मन्त्रालयको हुन्छ । त्यो क्लियर छ । दाँयाबाँया हुँदैन ।’ कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: २१ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्