डोटीमा जीप दुर्घटना : एकै परिवारका तीनसहित चार जनाको मृत्यु


 



धनगढी, मंसिर २१
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा गएराति जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् ।

दिपायलबाट गाउँपालिकाको केन्द्र खत्याडीका लागि हिडेको म १ च ५५० नम्बरको जीप बोगटान फुड्सिल गाउँपालिका–७ को बउखेल्ले भन्ने स्थानमा राति करिब १ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा केआईसिंह गाउँपालिका वडा नं ४ चन्केसैनका हरि भट्ट, बोगटान फुड्सिल गाउँपालिका वडा नं। ७ चवराचौतारामा कार्यरत वडा सचिव मञ्जु त्रिपाठी र उनका तीन वर्षका छोरा र सासू आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

मृतक भट्ट बोगटान फुड्सिल गाउँपालिकामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना अन्तर्गत कृषि प्राबिधिकका रूपमा कार्यरत थिए ।

दुर्घटनामा ग्लोबल आईएमई बैंकमा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट, चालक कैलाश बम घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि दिपायल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ मंसिर २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्