भारतले हटायो प्याज निकासी प्रतिबन्ध


 


नयाँदिल्ली, पाैष १४
भारतले करिब चार महिनापछि प्याज निकासीमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सोमबारदेखि यसअघिको नीतिमा संशोधन गर्दै १ जनवरीदेखि निर्यात खुला गर्ने निर्णय गरेको हो ।

‘१ जनवरी २०२० (शुक्रबार) देखि लागू सबै जातका प्याजको निर्यात खुला गरिएको छ,’ मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयद्वारा सोमबार जारी परिपत्रमा भनिएको छ । आन्तरिक उत्पादन कम गएका कारण मूल्य अकासिँदै गएपछि भारतले गत २९ भदौ ९१४ सेप्टेम्बर० मा प्याजको विदेश निर्यातमा रोक लगाएको थियो ।

नेपालमा खपत हुने प्याजको ९० प्रतिशतभन्दा बढी भारतबाट आयात हुने गरेका कारण प्याजमा भारतले लिने नीतिले नेपालको बजार पनि प्रत्यक्ष प्रभावित हुने गरेको छ । नेपालमा भारतबाट मात्र वार्षिक ३ अर्बभन्दा बढीको प्याज आयात हुँदै आएको छ । त्यही कारण भारतको निर्यातमा रोक निर्णयले नेपालमा पनि प्याजको भाउ अकासिएको थियो । दसैंतिहारजस्ता प्रमुख चाड नजिकिँदै गर्दा भारतले निर्यातमा रोक लगाउँदा आम नेपाली उपभोक्ता समस्यामा परेका थिए । त्यसबाहेक खुला सीमा भएका कारण निर्यातमा रोक लाग्दा चोरी पैठारीसमेत बढ्ने गरेको छ । यसले आम उपभोक्तालाई भन्दा पनि बिचौलियाहरूलाई बढी फाइदा पुग्ने गरेको देखिन्छ ।

भारतमा हरेक वर्ष भदौ–असोजमा प्याज अभाव हुने गरेको छ । भारतमा प्याजको माग र आपूर्तिबीच असन्तुलन कात्तिकको अन्त्यसम्म चल्छ । त्यसपछि नयाँ बाली आएपछि प्याजको आपूर्ति सहज भई बजार भाउ घट्ने गरेको छ । यस वर्षजस्तै प्याजको संकट गत वर्ष पनि देखिएको थियो । त्यति बेला पनि मोदी सरकारले निर्यातमा रोक लगाएको थियो । आपूर्तिमा कमी आएका कारण गत वर्ष भारतका केही भागमा प्याजको मूल्य डेढ सय भारुसम्म पुगेको थियो । दिल्ली सरकारले त आमउपभोक्तालाई लक्ष्य गर्दै प्याज बिक्रीका लागि सुपथ मूल्यको अभियान नै सञ्चालनमा ल्याएको थियो । आपूर्ति सहज भएपछि करिब ६ महिनापछि मात्र निर्यात खुला गरिएको थियो ।

भारतमा महाराष्ट्र र कर्नाटक राज्य प्याज उत्पादनका लागि चिनिन्छन् । यी दुई राज्यमा प्याजको उत्पादनमा हुने उतारचढावले भारतभरिको बजारलाई असर पार्ने गर्छ । यस वर्षको अत्यधिक बर्खाका कारण कनार्टकमा प्याजको खेतीमा असर परेको र पछिल्ला केही महिना चर्को माग भएका कारण विदेशतर्फ अत्यधिक निर्यात भएका कारणहरूले प्याजको भाउ बढ्दै गएको थियो ।

अझ त्यसमाथि चाडपर्व नजिकिँदै गएका कारण पनि यसको मूल्यमा थप चाप परेको थियो । भाउ बढ्दै गएर महाराष्ट्रको थोक बजारमै प्याजको मूल्य ती गुणाले बढेर प्रतिकेजी भारु ३० पुगेको थियो । यही क्रम जारी रहे भाउ थप बढ्ने आँकलन गर्दै मोदी सरकार निर्यात रोक लगाउने निर्णय गरेको थियो । भारतमा हुने प्याजको मूल्यमा उतारचढाव तथा माग र आपूर्तिबीचमा आउने अवरोधको असर पूरै अन्तराष्ट्रिय बजारमा पर्ने गर्छ । किनभने भारत विश्वका सबैभन्दा धेरै प्याज निर्यातक मुलुकमध्ये नेदरल्यान्ड र चीनपछि तेस्रो नम्बरमा आउँछ । त्यसैले पनि भारत हुने आपूर्ति अवरोधको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय बजारमा स्वतः पर्ने गर्छ ।

प्रकाशित मिति: १४ पुस २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्