हिल्सा नाका नखुल्दा हुम्लावासीको जनजीवन कष्टकर


 


हुम्ला, फागुन २२
नेपाल–चीन सीमास्थित हिल्सा नाका नखुल्दा हुम्लावासीको जनजीवन कष्टकर बनेकाे छ। झन्डै एक वर्षदेखि हिल्सा नाका बन्द हुँदा माथिल्लो हुम्लाको जनजीवन कष्टकर बनेको हाे । मानसरोवर–कैलाश तीर्थयात्रा पनि प्रभावित बनेको छ । गत वर्ष चैत पहिलो सातादेखि कोरोना महामारीका कारण अवरुद्ध हिल्सा नाका पुसयता हिमपातका कारण बन्द छ ।

नाका बन्द हुँदा नाम्खा गाउँपालिकामा दैनिक उपभोग्य सामग्री, खाद्यान्न र निर्माण सामग्रीको अभाव हुन थालेको छ । ‘पूरै गाउँपालिका वर्षौंदेखि चिनियाँ खाद्यान्नमा निर्भर छ,’ नाम्खा–६ का वडाध्यक्ष पाल्जोर लामाले भने, ‘नाका बन्द भएपछि स्थानीयलाई जीविकोपार्जनमा समस्या भयो ।’

उनका अनुसार यातायात सुविधा नहुँदा स्थानीयलाई सदरमुकाम सिमीकोटबाट खाद्यान्न र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या छ । नाका बन्द भएपछि युवाहरू यो वर्ष चीनको ताक्लाकोट जान नपाएको उनले बताए ।

नाका बन्द हुँदा हुम्लाको व्यापार व्यवसाय पनि ठप्प बनेको उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले बताए । ‘नाका बन्द हुँदा खाद्यान्न र दैनिक उपभोग्य सामानको भाउ अकासिएको छ,’ उनले भने, ‘आर्थिक कारोबार ठप्प छ ।’ नाका नखुल्दा हुम्लामा उत्पादित जडीबुटीले समेत बजार नपाएको उनको गुनासो छ ।

नाका बन्द हुँदा हिल्सामा रहेका भन्सार, अध्यागमनलगायत कार्यालय पनि बन्द छन् । सरकारले केही दिनअघि चीन र भारततर्फका ३० वटा नाका सञ्चालन गर्ने निर्णय गर्दा हिल्सा नाका परेको थिएन । ‘नाका खोल्न विभिन्न निकायमा आग्रह गरेका छौं,’ वडाध्यक्ष तामाङले भने, ‘तर सबैतिरबाट बेवास्ता भएपछि स्थानीय आत्तिएका छन् ।’ एक महिनाभित्र नाका नखुले नाम्खा गाउँपालिकामा खाद्यान्न र दैनिक उपभोग्य सामग्रीको संकट हुने उनको भनाइ छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्