भारतमा कोरोना संक्रमणको दोस्रो लहर, ठाउँ-ठाउँमा लकडाउन र कर्फ्यू


 



काठमाडौं, चैत्र ४
भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरू भएको छ ।

कोरोनाविरुद्ध खोप अभियान चलिरहेकै बेला भारतमा नयाँ संक्रमित ह्वात्तै बढेका छन् ।

बढिरहेको संक्रमण नियन्त्रणको रणनीति बनाउन आज दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरूसँग बैठक गर्ने भएका छन् । जसमा खोप, लकडाउन र कर्फ्यूबारे चर्चा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बैठकका लागि मुख्यमन्त्रीहरूले समेत तयारी गरिरहेका छन् । भारतको महाराष्ट्रमा सबैभन्दा बढी चिन्ताजनक अवस्थामा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

देशभरका संक्रमितमध्ये ५०५ अर्थात् आधा संक्रमित महाराष्ट्रमै देखिएका छन् । महाराष्ट्रमा कोरोनाको दोस्रो लहर शुरू भइसकेको सरकारले समेत स्वीकारेको छ ।

महाराष्ट्रमा हाल १ लाख ३८ हजार ८१३ सक्रिय संक्रमित रहेका छन् । मंगलवार मात्रै महाराष्ट्रमा १७ हजार ८६४ नयाँ संक्रमित थपिएका छन् ।

प्रधानमन्त्री मोदीसँग छलफल हुनुअघि नै कतिपय शहरहरूमा लकडाउन र रात्रिकालीन कर्फ्यू जारी भइसकेको छ । महाराष्ट्रका ६ शहरमा लकडाउन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गुजरातका ४ शहरमा रात्रिकालीन कर्फ्यू गरिएको छ । गुजरातका अहमदाबाद, वडोदरा, सूरत र राजकोटमा बुधवारदेखि रात्रिकालीन कर्फ्यूको आदेश जारी गरिएको छ ।

मध्य प्रदेशका ८ शहरमा रात्रिकालीन कर्फ्यू लगाइएो छ । राति १० बजेपछि बजार र आवतजावत बन्द हुने आदेश गरिएको छ ।

पञ्जाबमा समेत ८ जिल्लामा रात्रिकालीन कर्फ्यू लगाइएको छ । आज दिउँसो हुने प्रधानमन्त्री मोदीको बैठकबाट थप लकडाउन र कर्फ्यूको आदेश आउनसक्ने जनाइएको छ ।

प्रकाशित मिति: ४ चैत्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्