टीकापुरमा आजैदेखि सुरू गरिँदैछ होली खेल्न, दुई महिनादेखि तयारी


 


टीकापुर, चैत्र ८
कैलालीको टीकापुरमा आइतबारदेखिनै होली (होरी देउडा) खेल्न सुरु गरिने भएको छ।

टीकापुर सांस्कृतिक समाजको आयोजनामा होली देउडा टीकापुरको खुलामञ्चमा सुरु हुन लागेको हो । होलीको तयारीका लागि शनिबार आयोजक सांस्कृतिक समाज टीकापुरले होली सञ्चालनका विषयमा सर्वपक्षीय सर्वदलीय छलफल गरेको छ।

होलीलगायत यस क्षेत्रमा रहेका संस्कृति जोगाउन सचेत हुनुपर्ने टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताए । होली देउडा अष्टमीदेखि सुरु गरिए पनि राति भने पूर्णिमाको केही दिन अगाडिदेखि मात्र खेलिने भएकाले त्यसको व्यवस्थापन गरिने प्रमुख रावलले बताए ।

छलफलमा वडा नं १ का वडाध्यक्ष गङ्गाराम आचार्यले होली एउटा संस्कृति भएकाले त्यसको संरक्षणमा आफ्नो सहयोग रहने बताए। देउडाप्रेमीले होली देउडा खेल्ने समय दिउँसो बढाएर रातिको समय छोट्याउनुपर्ने सुझाव दिएका छन्।

टीकापुरमा आयोजना हुने होली देउडा हेर्न सुदूरपश्चिमका विभिन्न जिल्ला र प्रदेश नं ५ का बर्दिया, बाँकेका नागरिक पनि हेर्न आउने गर्छन्।

सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइँ सरी आएका नागरिकले खेल्ने होली देउडा पछिल्लो समय सबै नागरिकले खेल्ने गरेका छन्। होली देउडा खेल्दा पुरुष सेतो पहिरनमा सजिएर, फूलको माला र रातो टीका पहिरिएर खेल्ने चलन छ।

सांस्कृतिक समाजले देउडा खेल युवापुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको भन्दै टीकापुरमा साप्ताहिकरूपमा दुई महिनादेखि देउडाको अभ्यास गराइरहेको छ। 

प्रकाशित मिति: ८ चैत्र २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्