स्पष्टीकरणमा प्रधानमन्त्री ओलीलाई उल्टै आरोप


 



काठमाडौं, चैत्र १३
 एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई सोधिएको स्पष्टीकरण ‘अवैध भई अमान्य भएको’ जवाफ दिएका छन्।

नेता नेपालले स्पष्टीकरणमार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै उल्टै आरोप लगाएका छन्। महाधिवेशन आयोजक समिति अवैधानिक किसिमले गठन गरिएको आरोप नेपालको छ। नेपालले आफू होइन, अध्यक्ष ओलीले नै नेपाली जनता र एमाले पंक्तिलाई धेरै विषयमा स्पष्टीकरण दिनुपर्ने उल्लेख गरेका छन्। 

महासचिव ईश्वर पोखरेलको हस्ताक्षरसहित नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरणपत्र पठाइएको थियो । चारै नेताले छुट्टाछुट्टै स्पष्टीकरण दिएका हुन्। ओलीका गतिविधि एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय ७ का विभिन्न धाराविपरीत भएको नेपालको स्पष्टीकरणमा उल्लेख छ।

ओलीले गरेका कामकारबाहीमा धारा ४९ आकर्षित हुने उल्लेख गर्दै यसअनुसार कारबाही गरिनुपर्ने प्रकृतिका रहेको नेपालको आरोप छ। नेपालले व्यक्तिगत स्वार्थ, दम्भ र पदलोलुपताको सिकार भई पार्टी विधानविपरीत कार्य गरेको आरोप ओलीविरुद्ध लगाएका छन्। 

यस्तै, पार्टी निर्णय अनेक पटक उल्लंघन गरेको, राष्ट्रिय हित, अस्मिता र स्वाभिमानमा आघात पुर्‍याएको, गुटबन्दी गर्दै पार्टीविरुद्ध षड्यन्त्र गरेको, पार्टीको सिद्धान्त, नीति र कार्यक्रमप्रति विश्वास र निष्ठा कायम नराखेको, पार्टीको मात्र होइन, संविधान, देशकै प्रतिष्ठा र मर्यादामा आँच पुर्‍याएको आरोप लगाइएको छ।

सिद्धान्त, नीति र अनुशासनबाट च्युत भएको, पार्टी र देशको गोपनीयता भंग गरेकोरगराएको, विपक्षीसँग अनेकौं पटक साँठगाँठ गर्दै पार्टीलाई कमजोर  तुल्याएको आरोप नेपालले ओलीलाई लगाएका छन्। ‘फागुन २३ गते सर्वोच्च अदालतको फैसलामा साविकका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः मिल्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा आउनु भनी दिएको सूचनाको बारेमा केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई तपाईंले छलफल किन गराउनु भएन ?’, स्पष्टीकरणमा छ। अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: १३ चैत्र २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्